☰ open Loading... 26 November 2024|  

थपियो सुर्खेत उपत्यकामा खानेपानी, खडेरीमा संकट टर्ने अपेक्षा
  | २२ पुष २०७४, शनिबार १७:५२

सुशील खड्का
सुर्खेत । खडेरीमा सुर्खेत उपत्यकामा खानेपानी अभाव झेल्दै आएका नागरिकहरुलाई थप राहत हुने भएको छ । बहूप्रतिक्षित खेरी–बोरी आयोजनाको ३० लिटर प्रतिसेकेण्ड पानी करेखोला प्रशोधन केन्द्रमा थपिदा खडेरीमा नागरिकले अव ४८ घण्डासम्मको पालो कुनु पर्ने अवस्थाको अन्त्य भएको हो ।


उपत्यकामा खानेपानी आपूर्ती गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले झुप्रा खोलापछिको दोस्रो आयोजनाको निर्माण सम्पन्न गरेर पानीको स्रोत थप गरेको छ ।

हाल आइरहेको ११९ लिटर प्रतिसेकेण्ड पानीमा ३० लिटर प्रतिसेकेण्ड पानी दोस्रो आयोजनाबाट थप भएको छ । झण्डै ५४ किलोमिटर दुरीबाट आयोजना सम्पन्न गरेर संस्थाले पानीको स्रोत थप गरेको हो । खडेरीमा ४८ घण्टाको फरकमा उपभोक्ताको धाराहरुमा खानेपानी वितरण गर्दै आएको संस्थाले यो पटक कम्तीमा २४ घण्टासम्म पालो पर्खनु पर्ने अवस्था आउनसक्ने आंकलन गरेको छ ।
लागत
०७२ माघबाट निर्माण थालिएको यो आयोजनाको कुल लागत १७ करोड १८ लाख ९७ हजार ५५० रुपैया थियो । ३४ हजार ९४३ घरधुरीका १ लाख ९६ हजार ३५२ जना नागरिक यो आयोजना निर्माण सम्पन्न पश्चात लाभान्वित भएका छन् ।

तर, नयाँ आयोजनाको पानी थपिएसंगै अग्रिम भुक्तानी दिएका नागरिहरुको घरमा धारा जडान कार्य पनि जारी रहेको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । उनले नयाँ आयोजनाबाट हाल करेखोला केन्द्रमा २२ लिटर प्रतिसेकेण्ड पानी झरेकाले केही निर्माण चरण बाँकी रहेकाले एक महिनामा पूरै पानी केन्द्रमा थपिने बताए ।
डिजाइनभन्दा जनसंख्या बढ्यो
संस्थाले झुप्रा खोला आयोजनाको निर्माण शुभारम्भ गर्दा तयार गरेको डिजाईन अनुसार ह्वात्तै सुर्खेत उपत्यकाको जनसंख्या बढ्दा पानी वितरणमा समस्या भएको संस्थाका अध्यक्ष देवकोटा बताउँछन् । सन् २००२ मा गरिएको प्रारम्भिक सर्भेमा उपत्यकामा ५२ हजार ६२७ जनसंख्या थियो ।

तर डिजाइन अवधि सन् २०२० सम्म १ लाख ४ हजार २३९ नागरिकलाई झुप्रा खोला मुहानको पानी थेग्ने अनुमान थियो । सन् २०१५ मै उपत्यकामा १ लाख ५० हजार जनसंख्या भएपछि खोनपानी संकट खडेरीमा चुलियो ।

संस्थाको ०७४ पुस २० गतेको तथ्याङ्क अनुसार नीजि १४ हजार ९७२, कार्यालय संघ संस्था २८३, सामूहिक १२१ गरी १५ हजार ३७६ धारा जडान गरिएको छ । तर प्रक्रिया पुगेका २ हजार ११५ धारा जडान हुन बाँकी रहेको अध्यक्ष देवकोटाले उल्लेख गरे ।
दिर्घकालिन योजना
झुप्रा मुहान र खरी–बोरी खोला आयोजनाको पानीले मात्रै उपत्यकाको खानेपानी संकट टार्न नसिकने निष्कर्ष संस्थाले निकाल्दै भेरी नदीको पानी पम्पीङ्ग गर्ने योजनालाई द्रुत गतिमा अघि बढाएको छ ।

भेरी नदीको पानी पम्पीङ्ग र इन्टेक निर्माण गर्न वीरेन्द्रनगर–११ अमृतडाँडा क्षेत्रको सर्भे सम्पन्न भएको अध्यक्ष देवकोटाले जानकारी दिए । उनका अनुसार पाइपलाइन विस्तारको लागि पक्की, कच्ची र साना–ठूला सडक, उपत्यतका भित्राका सरकारी र गैरसरकारी निकायहरुको तथ्याङ्क संकलन सकिएको र ८ सय घरधुरीको सर्भेक्षण जारी छ । कम्तीमा तीन वर्षभित्र भेरी नदी पम्पीङ्ग आयोजना सम्पन्न गर्नेगरी आफूहरु जुटेको अध्यक्ष देवकोटाले उल्लेख गरे ।