☰ open Loading... 17 September 2024|  

उपमहानगरबाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान
  | २४ पुष २०७४, सोमबार ०८:१८

 

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।  वडा नं १९ बाट उपमहानगरपालिकाले आइतबार कार्यक्रम शुरु गरेको हो ।  उपमहानगरपालिका वडा नं १९ की सबैभन्दा वृद्ध १०३ वर्षीया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे।

उपमहानगरपालिकाले दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको छ ।

वडा नं १९ भित्र रहेका १६ जनामध्ये नौ जनालाई आइतबार नै वितरण गरिएको छ भने अन्यलाई आज वितरण गरिनेछ । सो अवसरमा टोपी, ब्लाङ्केट, ओड्ने एक÷एक थान वितरण गरिएको थियो ।

सो अवसरमा वृद्धवृद्धाको स्वास्थ्य जाँचसमेत गरिएको थियो ।  कार्यक्रममा प्रमुख पाण्डेले ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन आफूहरुले न्यानो कपडा वितरण गरेको बताए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा पनि न्यानो कपडा वितरण गरिएको छ । सो वडामा रहेका ८४ वर्ष पुगेका २८ जना वृद्धवृद्धालाई टोपी, ब्लाङ्केट, ओड्ने एक÷एक थान वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को वडा कार्यालयले आइतबार वडा कार्यालय रक्षाचौरमा एक कार्यक्रमको आयोजना गरी वडाका ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको हो ।

वडाका ८० वर्ष उमेर पुगेका २० जना वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरिएको हो ।  न्यानो कपडा पाउने ज्येष्ठ नागरिकले जाडोको समयमा आफूहरुलाई केही राहत हुने बताउँदै आगामी दिनमा पनि वडा कार्यालयले उदाहरणीय र राम्रो काम गर्न सुझाव दिएका थिए ।