☰ open Loading... 19 May 2024|  

तरकारी बजारीकरणमा पहल 
  | २५ पुष २०७४, मंगलवार १६:२४

कञ्चनपुर । कञ्चनपुरको ग्रामीण भेगमा पछिल्लो समय तरकारी उत्पादनमा वृद्धि हँदै गएको छ । स्थानीय उत्पादन बढेसँगै सरोकारवाला निकायले तरकारीको बजारीकरणका लागि पहल गरिरहेका छन् । कञ्चनपुर मण्डी व्यवसायी समिति र किसानलाई तरकारी खेतीमा सहयोग गर्दैआएका विभिन्न दातृ निकाय तरकारी बजारसम्म पु¥याउन अग्रसर देखिएका हुन् ।

कञ्चनपुर मण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले बेलौरी र पुनर्वास क्षेत्रका किसानले उत्पादन गरेका काउली, बन्दागोभीलगायत तरकारी अहिले भीमदत्तनगर आउन थालेको बताए । उनका अनुसार अहिले कञ्चनपुरमा झण्डै ७० प्रतिशत स्थानीय उत्पादनले बजार पाएको छ ।

“एक दशकअघिसम्म ९० प्रतिशत भारतीय तरकारीले बजार ओगट्थ्यो,” उहाँले भन्नुभयो । उहाँले जिल्लाको ग्रामीण क्षेत्रबाट तरकारी बजारसम्म पु¥याउन सडक पूर्वाधारको समस्या रहेको बताऐ । बेलौरीबाट भीमदत्तनगरसम्म तरकारी पु¥याउन निकै समस्या हुने गरेको छ । तरकारी बिक्री गर्न बजारको समस्या भने छैन ।

मण्डीमा संकलन गरिएको तरकारी दिनुहँ काठमाडौँ, पोखरा, बुटवल, नारायणघाट, नेपालगञ्ज, धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्रीका लागि पठाउने गरिएको अध्यक्ष सुनारले बताए । “अहिले मण्डीबाट दैनिक २५ क्विन्टलदेखि ३० क्विन्टलसम्म तरकारी खपत हुँदैछ,” उनले भने, “बगरखेतीका बेला त दैनिक २० टन तरकारी खपत हुन्छ ।”

बेलौरी क्षेत्रमा उत्पादन भएको तरकारी कैलालीको धनगढी र अत्तरीया बजारमा बिक्री गरिन्छ । सो क्षेत्रमा महिला किसान समूहमार्फत तरकारी उत्पादन भइरहेको छ । मनग्य आम्दानी र दातृ निकायको सहयोग बढेसँगै तरकारी खेतीमा किसानको आकर्षण पनि बढेको छ ।
जिल्लामा तरकारी खेतीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ, निड्स, किसान प्रोजेक्टलगायत गैरसरकारी संस्थाले अनुदान एवं प्राविधिक सहयोग गर्दैआएका छन् । ग्रामीण भेगमा रहेका कृषि सेवा केन्द्र र नगरपालिका कार्यालयसँग किसानले समन्वय गरी तरकारी बजारसम्म पु¥याउने गरेका छन् ।

“अहिले भारतबाट आयात गर्ने आलु, प्याज र केही मात्रामा गोलभेँडा मात्र हो,” अध्यक्ष सुनारले भने, “किसानले तरकारी उत्पादनमा मेहनत गरिरहेका छन् ।”

जिल्ला कृषि विकास कार्यालयले समेत किसानलाई तरकारी खेतीमा अनुदान दिँदै आएको छ । ग्रामीण क्षेत्रका किसानले तरकारी बस्ती बस्तीमा टोकरीमा राखेर बिक्री वितरण गर्दै आएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ, खाद्य सुरक्षा दिगो जीविकोपार्जन कार्यक्रमका संयोजक राजकुमार सुनारले बेलौरीमा मात्रै समूहमार्फत २७५ किसान व्यावसायिक तरकारी खेतीमा लागेको बताए ।

“बेलौरी नगरपालिकामा पकेट र बगरखेती गरी ४५ बिगाहामा तरकारी खेती गरिएको छ,” उनले भने, “उत्पादित तरकारी बजारसम्म पु¥याउन मण्डी समितिसँग किसानको समन्वय गराइरहेका छौँ ।” उनले उक्त कार्यक्रममार्फत किसान समूहलाई बेर्ना, मलखाद, कृषि सामग्रीका साथै प्राविधिक सहयोग गर्दैआएको बताए ।

“किसानले तरकारी बिक्री शुरु गरिसकेका छन”– सुनारले भने, “तरकारी संकलनका लागि दुईवटा केन्द्रसमेत निर्माण गरिएका छन् ।” बेलौरीका दुईवटा गाउँमा तरकारी संकलनका लागि रु पाँच लाखको लागतमा संकलन केन्द्र निर्माण गरिएको उहाँले बताऐ । तरकारीबाट भएको आम्दानी समूहमा आबद्ध किसानले मुनाफा वितरण गर्नुका साथै केही प्रतिशत रकम तरकारी खेतीमा लगानी गर्न खर्च गर्ने गरेका छन् ।

समूहमार्फत व्यावसायिक तरकारी खेती गरिरहेका बेलौरी नगरपालिका–३ का किसानले १५ बिगाहामा तरकारी खेतीका साथै माछापालन समेत गरेका छन् । तरकारी खेती समूहका कोषाध्यक्ष सावित्रा रावलले ४५ जना किसान आबद्ध भएर तरकारी खेती गरिएको बताए ।

“समूहमा मासिक रु ५० बचत गर्छन्”– उहाँले भन्नुभयो, “तरकारीका साथै माछापालनलगायत अन्य कृषिजन्य काममा पनि हात हालेका छौँ ।” उत्पादित तरकारीका लागि बजारको समस्या नहुनेमा किसान ढुक्क छन् ।

माछापालनका लागि ९० लाख अनुदान  

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कञ्चनपुरमा माछापालनका लागि रु ९० लाख अनुदान आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तीस हेक्टरमा पोखरी निर्माण गरी माछापालन गर्ने किसानलाई प्रतिहेक्टर रु तीन लाखका दरले अनुदान रकम वितरण हुने कार्यालय प्रमुख देवीदत्त कलौनीले बताए ।

बेलौरी नगरपालिकामा माछापालनका लागि उक्त अनुदान आएको हो । उहाँले माछापालनका लागि ४० जना किसानले निवेदन दिएका बताऐ । गत वर्ष मत्स्य उत्पादन विशेष कार्यक्रममार्फत कञ्चनपुरमा १२ हेक्टर र कार्यालयबाट चार हेक्टर गरी १६ हेक्टरमा पोखरी निर्माण गरी माछापालन गरिएको थियो ।

्त्यरसैगरी, चिसो बढेसँगै कञ्चनपुरमा माछाको व्यापार समेत बढेको छ । भीमदत्तनगर र त्यस आसपासको क्षेत्रमा मात्रै दैनिक १० देखि १२ क्विन्टल माछा बिक्री हुने गरेको कञ्चनपुर मन्डी व्यवसायी समितिका अध्यक्ष सुनारले बताए । एउटै पसलबाट एक क्विन्टलसम्म माछा बिक्री भइरहेको छ ।

एयरपोर्ट रोडमा माछाको व्यापार गर्ने तीर्थ चौधरी स्थानीय उत्पादनसँगै भारतीय बजारबाट समेत माछा आयात भइरहेको बताएनुहुन्छ । पछिल्लो समय कञ्चनपुरमा माछापालनमा किसानको आकर्षण बढिरहेको भए पनि स्थानीय उत्पादनले बजारको माग धान्न नसक्दा भारतीय बजारबाट आयात गर्नु परेको हो ।