काठमाडौँ । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । देशभरबाट ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो ।
एम्बुलेन्स निर्देशका २०७३ को बुँदा नम्बर १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एकै टेलिफोन नम्बर रहने गरी व्यवस्था गर्नुपर्ने उल्लेख छ । सो बुँदा ढिलै भए पनि कार्यान्वयन तयारीमा मन्त्रालय लागेको हो ।
निर्देशिकामा एम्बुलेन्स सञ्जाल तथा ट्रयाकिङअन्तर्गत एउटै क्षेत्रमा सेवा पुयाउने गरी एकभन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहेका अवस्थामा सबै एम्बुलेन्सलाई एउटै सञ्जालमा आबद्ध हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
एम्बुलेन्स सञ्जालका लागि मन्त्रालयमा एक केन्द्रीय ‘डिस्प्याच सेन्टर’ रहने र आवश्यकतानुसार अन्य स्थानमा पनि त्यस्ता सेन्टर रहन सक्ने निर्देशिकामा उल्लेख छ । त्यस्तो ‘डिस्प्याच सेन्टर’ सञ्चालनका लागि आकस्मिक उपचार वा एम्बुलेन्स सेवाको क्षेत्रमा ज्ञान र अनुभव भएको संस्थासँग सञ्चालन साझेदारी गर्न सक्ने उल्लेख छ ।
यसअघि प्रहरीलाई फोन गर्नुपरे १००, दमकललाई फोन गर्नुपरे १०१, ट्राफिक प्रहरीलाई फोन गर्दा १०३, बालबालिका हराएमा १०४ र फोन नम्बरबारे जानकारी लिन १९७ को प्रयोग हुँदै आएको छ ।
निजी क्षेत्रबाट काठमाडौँ उपत्यकाभित्रका हकमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरिए पनि सरकारी तहबाट भने कुनै नम्बर कार्यान्वयनमा छैन । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा मेडिकल टिम्स इन्टरनेशनल ९एमटिआइ०, नेपालको सहयोगमा धादिङमा परीक्षणका रुपमा ११२ नम्बरलाई एम्बुलेन्सको नम्बरका रुपमा प्रयोग गर्ने योजना बनाएको मन्त्रालयका उपसचिव राजीव पोखरेलले जानकारी दिए ।
सो नम्बरका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको र दूरसञ्चार प्राधिकरणसँग छलफल जारी रहेको उनले बताए । उनले भने, “पहिलो चरणमा धादिङमा यो नम्बरलाई परीक्षणका रुपमा प्रयोग गर्छौं । भविष्यमा देशैभरि सोही नम्बरलाई प्रयोग गर्ने तयारी मन्त्रालयको छ ।”
यसले देशभरि एउटै एम्बुलेन्स नेटवर्किङ बन्ने र एम्बुलेन्स सेवा सहज र सरल रुपमा पाउन सकिने आफूहरुले विश्वास लिएको उनले बताए । मेडिकल टिम्स इन्टरनेनशल, नेपालका लागि देशीय निर्देशक विमल विष्टले आफूहरुले सञ्चालनमा ल्याएको ‘आपत्कालीन चिकित्सा प्रणाली’ कार्यक्रमअन्तर्गत एउटै टेलिफोन नम्बरका लागि सरकारसँग सहकार्य गरिरहेको बताए ।
स्राेत ः कान्तिपुर