☰ open Loading... 19 May 2024|  

कसरी मनाइन्छ माघे संक्रान्ति ?
  | ३० पुष २०७४, आईतवार १९:१०

सुर्खेत । माघे संक्रान्ति पर्व, देशभर स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी (साेमबार) मनाईंदैछ । सूर्य धनु राशिबाट मकर राशिमा मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । याे दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ ।

थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् । माघे संक्रान्तिकाे दिन कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवसका रुपमा पनि मनाइन्छ । एकै दिन पर्ने र एउटै नामको पर्व माघे संक्रान्तिलाई पनि भिन्नभिन्न भेग र समुदायमा फरक ढंगले मनाउने प्रचलन छ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् ।

ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।

माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजीकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ ।

नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । माघेसङ्क्रान्तिलाई थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ ।

नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् ।विहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, भजनकीर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् ।