☰ open Loading... 20 April 2024|  

पुर्खेली ठाँउमा अक्षय कोष
  | १२ माघ २०७४, शुक्रबार १६:१२

सुर्खेत, । तपाईलाई थाहा होला, विभिन्न व्यक्तिले विद्यालयमा अक्षयकोष स्थापना गरी छात्रवृत्ति वितरण गरेको तर दैलेखको डाँडा पराजुल स्थित पिपलचौतारा माविले भने पुर्खा बसेको भन्दै त्यस क्षेत्रको शिक्षालाई थप प्रभावकारी बनाउन भन्दै काठमाडौंबाट आएका व्यक्तिबाट अक्षयकोष प्राप्त गरेको छ । ति व्यक्ति हुन् लायन्स सुकल्याण पराजुली ।

आफ्नो पुर्खा डाँडापराजुलबाट नै अन्यत्र गएको र जात पनि पराजुली नै रहन गएको भन्दै पराजुलीले पुर्खालाई सम्मान गर्न भन्दै गतबर्ष १ लाख रुपैंयाको अक्षय कोष स्थापना गरेका थिए । सोही अक्षयकोषबाट आएको व्याज रकमले ५ जना जेहेन्दार विद्यार्थीलाई उनले छात्रवृत्ति समेत प्रदान गरे । उनले त्यतिमात्र होईन, यो वर्ष थप ५० हजार रकम थप गरी पुष्प शान्ति गोमादेवी पराजुली छात्रवृत्ति कोषलाई अझ बढावा दिए ।

गतवर्षको रकमको व्याजले यो वर्ष ५ जना विद्यार्थीलाई जनही १६७१ रुपैंयाका दरले प्रदान गरिएको छात्रवृत्ति रकमले आफूहरुलाई उच्च शिक्षा अध्ययन गरी देशका लागि केहि गर्ने हौसला मिलेको देवेन्द्र हमाल बताउँछन् । उनले काठमाडौंबाट आएर दुर्गम स्थानमा अक्षयकोष स्थापना गरी छात्रवृत्ति प्रदान गरेकोमा पराजुलीप्रति कृतज्ञता ज्ञापन गरे । सोही विद्यालयमा अध्ययनरत यमुना शाहीले यो रकमले अक्षयकोष स्थापनाकर्ताको उदेश्य पुरा गर्ने गरी आफूले अध्ययन गर्ने बताईन ।

स्थानीय पराजुली समाजका अध्यक्ष शेरबहादुर पराजुलीले सुकल्याण पराजुलीले गरेको यो कार्य प्रशंसनीय र सम्मान गर्न लायक भएको प्रतिक्रिया दिए । डाँडापराजुलबाट पराजुलीको थर रहन गएको भएतापनि अहिले उक्त ठाँउमा एकजना पराजुली पनि नबस्ने गरेको उनको भनाई छ ।

अक्षयकोष स्थापनाकर्ता पराजुलीले आफूले पुर्खेली सम्झेर अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘मलाई मेरो पुर्खा देखि गर्व लाग्छ, म आफ्नो पुर्खा बसेको ठाँउका स्थानीय बालबालिकाको शैक्षिक स्तर सुदृढ होस् भन्ने चाहनाले यहाँ आएको हुँ ।’

न्यानो कपडा र सरसफाई किट वितरण 

यता,लायन्स क्लब अफ पोखरा अन्नपुर्ण र लायन्स क्लब अफ् बुलबुले सुर्खेतले कक्षा १ देखि ५ सम्म पढ्ने १५० न्यून आय भएका विद्यार्थीहरुलाई न्यानो कपडा र सरसफाई किट समेत वितरण गरेको छ । न्यानो कपडा र सरसफाई किट लायन्स विजय पराजुली (एमजेएफ) र लायन्स सुकल्याण पराजुलीले खरिद गरी वितरण गरेका हुन् । विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण गर्दा विद्यार्थीहरु उत्साहित भएका थिए ।