बुद्धिमान पुन, सल्यान ।
उद्योग बाणिज्य संघ सल्यानले घुमन्ते ब्यापारीलाई निषेध गरेको छ । जिल्लाका बिभिन्न गाँउ गाँउहरुमा घुमेर ब्यापार गर्ने घुमन्ते ब्यापारीहरुलाई निषेध गरेको हो । स्थानियलाई ठगी गर्दै हिड्ने गरेको पाईए पछि उनीहरुलाई निषेध गरिएको हो ।
स्थानिय तह, राजस्व कार्यालय, घरेलु कार्यालय आदीमा दर्ता नै नगरेर बजार तथा गाँउहरुमा घुमन्ते रुपमा ब्यापार गर्दा जिल्लाका ब्यापारीहरु मर्कामा पर्ने भएकाले यस्तो कार्यको थालनी गरिएको सल्यान उद्योग बाणिज्य संघका महासचिब भरत कुमार बस्नतेले जानकारी दिए ।
‘जिल्लाका धेरै ब्यापारीहरु ब्यापार दर्ता गरेर सञ्चालन गरेका छन्, उनीहरुले राज्यलाई राजस्व तिरिरहेका छन्’ उनले भने –‘तर घुमन्ते ब्यापारीहरुले ब्यापार दर्ता नगरी, राज्यलाई कर नतिरेर ब्यापार गरिरहेका छन्, यसले गर्दा यहाँ ब्यापारी मर्कामा परेका छन्, त्यसैले घुमन्ते ब्यापारीलाई निषेध गरिएको हो ।’
सल्यान उद्योग बाणिज्य संघको नयाँ कार्यसमितीको पहिलो बैठकले यस्तो निर्णय पनि गरेको थियो । सोही अनुसार शनीबार ३ जना कपडा ब्यापारीहरुको सामान जफत गरेको छ । उनीहरुको साथ बाट डेढ लाख बढीको सामान जफत भएको हो । अहिले सम्म जिल्ला बाट झण्डै ५५ जना घुमन्ते ब्यापारीहरुको सामान जफत भएको छ । घुमन्ते ब्यापार गर्नेहरुमा सबै भन्दा धेरै कपडा ब्यापारी रहेका छन् ।
उद्योग बाणिज्य संघले सटिङ, सुटिङ, ईलेक्ट्रोनिक्स तथा औषधिजन्य सामाग्रीहरु जथाभाबी बिक्री गर्दै हिड्ने घुमन्ते ब्यापारीहरुलाई निषेध गरेको छ । महासचिब बस्नेतले घुमन्ते ब्यापारीहरुलाई सम्झाएर आगामी दिनहरुमा दर्ता बिना जिल्लामा ब्यापार नगर्न आग्रह गर्ने गरेको बताए ।
‘बाणिज्य संघले उनीहरुको सामान जफत गरेर राख्छ, उनीहरुले आफ्नो ब्यापार दर्ता गरेको कागज, बिल आदी लिएर आएमा सामान फिर्ता दिन्छ’–उनले भने । उनले सामान फिर्ता लिन नआएमा प्रहरी प्रशासन लगातएकाको रोहबरमा उक्त सामानलाई आन्तरिक राजस्व कार्यालयमा पठाउने बताए ।