☰ open Loading... 2 May 2024|  

भेरी-बबर्इ अायाेजना : २ महिनामा २ किलाेमिटर सुरूङ खनियाे
  | १७ माघ २०७४, बुधबार १७:५६

सुर्खेत । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो ।


अढाइ महिनामा २ किलाेमिटर सुरुङ खनिएको आयोजनाका प्रमुख शीव बस्नेतले जानकारी दिए ।  गत कात्तिक मसान्तदेखि सुरुङ खन्न थालिएकाे हाे ।  सुरुङसम्बन्धी निर्माणका सबै कार्यहरू सन् ०२० मार्चसम्म गरिसक्ने आयोजनाको लक्ष्य रहेकाे बस्नेतले बताए ।

आयोजनामा हाल दैनिक १८ घण्टा सञ्चालित टीबीएमले प्रतिदिन २० देखि २५ मिटरसम्म सुरुङ खनिरहेको बताएका बस्नेतले मेसिन सञ्चालनका लागि ८४ जना चिनियाँ प्राविधिक र झन्डै ६ सय नेपाली कामदार चौबिसै घण्टा सुरुङ निर्माणमा खटिएकाे जानकारी दिए ।

सुरूङकाे लम्बाइ १२ किमि र चौडाइ ५.६ मिटर छ । टीबीएमले सुरुङ खनेसँगै सेग्मेन्टको काम पनि भइरहेको छ । हाल दैनिक ८० सेग्मेन्टको प्रयोग भइरहेको छ । १२ किमि सुरुङका लागि ३६ हजार सेग्मेन्ट आवश्यक पर्छ ।

अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको यो मेसिन चीनबाट ल्याइएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले गरिरहेको छ ।

अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरिदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरूप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने सर्त राखेको थियो । सर्तअनुसार उत्पादक कम्पनीले २ सय ५० मिटर लामो मेसिन जडान गरेको हो ।

मेसिनले भेरी र बबई नदीबीचको १२ किमि लामो चुरे पर्वत खन्दै छ । टीबीएमले खनेको माटो ओसार्न मोनो रेल प्रयोग गरिएको छ । सरकारले अन्तर जलाधार जल स्थानान्तरण परियोजनामध्ये यसलाई मुलुककै पहिलो तथा नमुना परियोजनाका रूपमा अघि बढाएको छ ।

मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमुना भनिएको हो ।

सिँचाइ विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता छ । यसअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई १२ किमि लामो सुरुङमार्फत भेरी नदीको प्रतिसेकेन्ड ४० घनमिटर पानीलाई बबईमा मिसाइनेछ ।

बबईमा मिसाइएको पानीबाट ४८ मेगावाट विद्युत् तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । सुरुङ खन्ने काम सम्पन्न भएपछि विद्युत् गृह निर्माण थालिनेछ ।

स्वदेशी लगानीमा निर्माण हुन लागेको यस आयोजनाको कुल लागत साढे १६ अर्ब रहेको छ । बाह्रै महिना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ अर्ब र विद्युतबाट ४ अर्ब प्रत्यक्ष आम्दानी अनुमान गरिएको छ ।