☰ open Loading... 19 April 2024|  

ब्यालेन्स सकिएपनि अब कुराकानी गर्न सकिने
  | २२ माघ २०७४, सोमबार १५:०९

काठमाडाैँ ।  १४ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले नयाँ योजना ल्याएको छ । टेलिकमले ल्याएको यस योजनामा ग्राहकले फोन गरिरँदा ब्यालेन्स सकिएको खण्डमा समेत कल काटिने छैन् ।

नमस्ते क्रेडिट नाम दिइएको यस योजनामा त्यसरी फोन गर्दा लागेको शूल्क पछि रिचार्ज गर्दा काटिने टेलिकमले जनाएको छ । रिचार्ज गरेपछि फोनमा खर्च भएको रकम मात्रै कटौती हुने र अन्य थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ ।

यस योजनाको व्यवसायिक सुरुवात भने एक महिनापछि बाट मात्र हुने कम्पनीले स्पष्ट पारेको छ । व्यक्तिगत समूहतर्फ नेपाल टेलिकमको पोस्ट पेड मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गरेको भन्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार घिसिङले यो वर्षमात्र आफ्नो मोबाइल सेवाबापत् एक लाख ९७ हजार खर्च भुक्तानि गरेका छन् ।

टेलिकमको वार्षिकोत्सव समारोहका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सबैभन्दा बढी रकम खर्च गरेका ग्राहकलाई सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्मान गरेका थिए ।

प्रिपेड सेवातर्फ सबैभन्दा बढी रकम खर्च गर्नेमा पत्रकार पुष्प दुलाल छन् । उनले यो वर्ष ६४ हजार रुपैयाँ खर्च गरेका छन् । मन्त्री बस्नेतले पत्रकार दुलाललाई सम्मान गरे । कार्यक्रममा घिसिङ भने उपस्थित थिएनन् ।

संस्थागत तर्फ सबैभ्दा बढी रकम खर्च सूर्य नेपालले गरेको छ । उसले ९ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ । टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति गर्ने जनाएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्नेछ ।

कम्पनीले जीएसएम एसेवातर्फ २३ माघ देखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु ५० र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु १५ शुल्क तोकेको छ ।

यस्तै माघ २३ देखि माघ २९ सम्म रु ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र ५००र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ ।

यसैगरी पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न रु २।२२ देखि रु २।३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ ।
यस्तै, अन्तराष्ट्रिय आगमन कलमा ७ दिनमा ७ मिनेट भन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ ।

यस्तै २५ माघ देखि २५ बैशाखसम्म विभिन्न ‘स्प्रिङ अफर’ प्याकेजहरु ल्याउने पनि टेलिकमले जनाएको छ । सो अवसरमा सम्बोधन गर्दै प्रवन्ध निर्देशक राजभण्डारीले बढ्दो प्रतिस्पर्धात्मक बजारमा कम्पनीले गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सुविधा दिन प्रतिबद्ध रहेको बताइन् ।

उनले १४ वर्षको अवधिमा कम्पनीको ग्राहक १ करोड ८५ लाख नाघिसकेको जानकारी दिँदै मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा ताररहित र तारसहित डाटामार्फत सेवा प्रदान गरिरहेको बताइन् ।