☰ open Loading... 20 April 2024|  

चामुण्डामा दलितले पकाएको खाँदैनौं भन्दै विद्यालयमा तालाबन्दी !
  | २५ माघ २०७४, बिहीबार १८:२२

अमर सुनार, दैलेख । 

चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा विद्यालयमा दलितले पकाएको दिवा खाजा खाँदैनौं भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । ‘दलित पकाएको खाए दाँत झर्छन्’ भनी घरमा अभिभावक भनेका कारण ती बालबालिकाले खाजा खान मानेका छैनन् ।

विहीवार मध्यान्ह १२ बजेतिर खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाँदैनौं भन्दै भान्सा कोठामा एक्कासी ताला लगाएको खाजा पकाउने सहयोगी निर्मला नेपालीले बताइन् ।

विद्यालय व्यवस्थापनको निर्णयबाट २ महिना अघि प्रति महिना २ हजार पाउने गरी नियुक्त गरिएकी निर्मलाले दिवा खाजा पकाउन सुरु गरेदेखि तल्लो जातीले पकाएको खाँदैनौं भन्दै ६ र ७ कक्षाका गैरदलित बालबालिकाले खाजा खाएका थिएनन् । यो विद्यालयमा २ सय ८६ विद्यार्थी छन् ।

विद्यालयका कार्यालय सहयोगी दण्डपाणी रिजालले बालबालिकाको लागि दिवा खाजा पकाउन सक्दिन भनेपछि विद्यालयको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी विद्यालय व्यवस्थापनको निर्णयबाट निर्मलालाई नियुक्त गरिएको थियो ।

‘केही बालबालिकाले पहिलेदेखि नै खाँदैन्थे आज म प्रधानाध्यापक बैठकमा चामुण्डा श्रोत केन्द्रमा गएको मौकामा ताला लगाएछन्’ विद्यालयका प्रधानाध्यापक पूर्ण कँडेलले भने ।

बालबालिकालाई नै उक्साएर शिक्षकहरुले विद्यालयमै विभेद गराएको भन्ने स्थानीय दलित अगुवाहरुको आरोप छ । यस बारे ध्यानाकर्षण गराउदा प्रधानाध्यापक कँडेलले टिप्पणी गरे ‘घरपरिवारको शिक्षाका कारण बालबालिकाले त्यति कट्टरता देखाएका हुनसक्छन् ।’

दिवा खाजाले विद्यालयमा विभेद सिकाएको जनगुनासो बारे शिक्षाका लागि खाद्य कार्यक्रम इकाई दैलेखका निमित्त कार्यालय प्रमुख उमेश शर्माले आफूहरुलाई पनि यसबारे जानकारी आएको र समस्या समाधानका लागि पहल गरिएको बताए ।

जातीय विभेदको मुद्दाहरुमा स्थानीय तहका जनप्रतिनिधि र प्रहरीले नै मिलापत्र गराउन थालेपछि दैलेखमा विभेदजन्य घटनाको संख्या बढेको अधिकारकर्मी पत्रकार अमर सुनारले बताए । धारा पँधेरा, धार्मिक स्थल र कतिपय सार्वजनिक स्थलमा समेत सामाजिक संस्कारको नाममा दलितहरुलाई विभेद हुने गरेको सुनारको व्याख्या छ ।

रक्षा बन्धनको धागो बाध्न इन्कार गरिएको रुमको २०६५ को घटना, छोराले अन्तरजातीय विवाह गर्दा २०६८ सालमा तोलीका सेते दमाईको हत्या भएको वा २०६६ मा अन्तरजातीय विवाह गर्दा जगनाथको अमृत बिक माथि कुटपिट तथा साठी हजार जरिवाना गरिएका घटनामा अदालतले छुवाछूत ठहर गर्दै दलितहरुलाई न्याय दिलाएको थियो । यी घटनाहरुमा जातीय विभेद मान्न नसकिने भनी कतिपय गैरदलित सामाजिक अगुवाहरुले बिश्लेषण गरेका थिए ।

दुई साता अघि गुन्द्री छोएको निहुमा बडाखोलाका पहलबहादुर कामीलाई उनकै छिमेकी भीमबहादुर रोकाय र खरिगैराका नगेन्द्र खत्रीले मरणासन्न हुने गरी कुटपिट गरेको एउटा घटना र माघ २२ गते मात्र गमौडीमा बालकुमारी नेपाली माथि त्यहीका उपेन्द्रबहादुर सिंह र जीतबहादुर सिंहले पनि जातीय विभेद गरेको घटना समेत प्रहरीमा २ वटा जाहेरी परेका छन् ।

यही महिनामा छुवाछूतजन्य २ वटा घटना प्रहरीमा पुगे पनि सकभर मेलमिलापमा लैजानुपर्ने भनी राजनीतिक नेतृत्वको आग्रहमा मुद्दा दर्ता भएका छैनन् । मुद्दा दर्तामा हिच्किचाई भइरहेको बेला विद्यालयमा समेत विभेद सिकाउने थालिएपछि परिवर्तन कसरी संभव होला अधिकारकर्मी प्रेम भूर्तेलले दुखेसो पोखे ।