☰ open Loading... 20 April 2024|  

पुरै बिद्यालयमा एक शिक्षिका
  | २५ माघ २०७४, बिहीबार २०:०१

बुद्धिमान पुन/ सल्यान  ।

सरकारी कुनै एक बिद्यालयमा कती जना शिक्षक, शिक्षिका हुन्छन् ? ४ जना, ६ जना, ८ जना वा १० जना । तर तपाईलाई अनौठो लाग्न सक्छ । सल्यानको एक बिद्यालयमा एक जनामा मात्रै शिक्षिका छिन् । उनी पनि बालबिकास केन्द्रकी सहयोगी कार्यकर्ता ।

अहिले सिंगो बिद्यालय उनी कै भरमा सञ्चालन हुदैँ आएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० मधानामा रहेको कालिका आधारभूत बिद्यालय अहिले एक जना सहयोगी कार्यकर्ता (शिक्षिका) को भरमा सञ्चालन हुदैँ आएको हो ।

सबै बिद्याथीहरुलाई संगै राखेर बढाउदा केही बुझ्दैनन्

कक्षा ३ सम्म सञ्चालन भएको यस बिद्यालयमा अहिले एक जना मात्रै शिक्षिका रहेकी छिन् । ‘पहिले अरु पनि हुनु हुन्थ्यो, तर लामो समय भैसक्यो, यहाँ कोही आउनु भएको छैन्, अहिले एक्लै बिद्यालयका सबै बिद्याथीहरुलाई पढाउनु पर्ने बाध्यता भएको छ’ –शिक्षिका बिमला बस्नेत थापाले भनिन् ।

उनले अहिले बालबिकास, कक्षा १, २ र ३ का सबै बिद्याथीहरुलाई संगै राखेर पढाउने गरेको बताईन् । ‘बिद्यालयमा अरु कोही पनि शिक्षक छैनन्, एक्लै बिद्यालय चलाउनु परेको छ, अलग अलग राखेर बढाउन समस्या भयो, बालबिकासकालाई पढाउदा, कक्षा १, २ र ३ का बिद्यालर्थीहरु बाहिर निक्लीएर खेल्न शुरु गर्छन्, कक्षा १, २ वा ३ कुनै एकमा जाँदा अरु कक्षाका सबै बिद्याथीहरु बाहिर निस्कन्छन्’ –उनले भनिन् ।

शिक्षिका थापाले अहिले सबै बिद्याथीहरुलाई एउटै कक्षामा राखेर पढाउने गरेको बताईन् । ‘मैले सबै बिद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउने गरेकी छु’ उनले थपिन –‘तर सँगै राखेर पढाउदा बिद्यार्थीहरुले पढाएको केही पनि बुझ्दैनन् ।’ उनले आफु कुनै कारणवस बाहिर जादा बिद्यालय नै बन्द गर्नु पर्ने अबस्था रहेको बताईन् ।

भवन भत्किदा पढाउन समस्या

शिक्षिका थापाले बिद्यालयमा २ वटा भवन भए पनि अहिले दुई कोठे भवन भत्कदा पठनपाठनमा समस्या भएको बताईन् । ‘२०७२ सालको भूकम्पले भवन चर्किएको थियो, पछि बर्षायाममा ढल्यो, अहिले भवनको अभाव छ’– उनले भनिन् । अहिले ३ कोठे अर्को भवनमा बिद्यार्थीहरुले पढिरहेका छन् । ‘एउटा कोठामा अफिस छ, अर्कोमा सामानहरु छन्, बाँकी एउटामा सबै बिद्यार्थीहरुलाई संगै बसाएर पढाउने गरेकी छु’– उनले भनिन् ।

यस बिद्यालयमा ३७ जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । अहिले बालबिकासमा १५ जना, कक्षा १ मा ७ जना, कक्षा २ मा १० जना र कक्षा ३ मा ५ जना बिद्याथीहरु रहेका छन् । बिद्यालयमा शिक्षक, शिक्षिका नहुँदा पढाई नहुने भन्दै केही बिद्यार्थीहरु बिद्यालय समेत आउन छोडेका छन् ।

कार्यालय सहयोगी बिहिन बिद्यालय

बि.सं. २०६१ सालमा स्थापना भएको यस बिद्यालयले अहिले सम्म पनि कार्यालय सहयोगी पाउन सकेको छैन् । बेला बखतमा कार्यालय सहयोगीका बिषयमा कुराकानी चले पनि अहिले सम्म बिद्यालयले कार्यालय सहयोगी नपाएको बिद्यालय स्रोत बताउँछ । बिद्यालयमा कार्यालय सहयोगी नहुँदा बिद्यालय सरसफाई देखी पानी बोकेर समेत आफैले खुवाउनु पर्ने बाध्यता भएको शिक्षिका थापाले बताईन् ।

प्रधानाध्यापक बिद्यालयमा आउदैनन्

बिद्यालयका प्रधानाध्यापक दिपक थापा बिद्यालय आउन छोडेका छन् । उनले पिसिएफ बाट तलब खान्थे । तर अहिले पिसिएफ बाट तलब आउन छोडेको छ । उनी बिगत केही महिना देखी बिद्यालयमा नआएको बिद्यालय स्रोत बताउँछ । तर सहयोगी कार्यकर्तालाई तलब खुवाउने देखी लिएर अन्य कामहरु भने गर्दै आएका छन् ।