☰ open Loading... 3 May 2024|  

प्रदेश ७ को सभामुखमा एमालेका थापा निश्चित
  | २७ माघ २०७४, शनिबार १६:५१

कैलाली । प्रदेश नम्बर ७ को सभामुखमा नेकपा एमालेका अर्जुनबहादुर थापाको मात्र उम्मेदवारी परेको छ । ६२ वर्षीय थापा एमाले बझाङका पूर्वअध्यक्ष हुन् ।

बझाङबाट प्रदेशसभा सदस्य बनेका थापा एमालो कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीको प्रस्ताव र माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता त्रिलोचन भट्टको समर्थनमा उम्मेदवार भएका हुन् ।

सभामुखको उम्मेदवारको लागि दिउँसो २ देखि ५ बजेसम्मको समय दिइएको छ । अहिलेसम्म थापा बाहेक अरुको उम्मेदवारी परेको छैन । अरूको उम्मेदवारी नपरेको कारण सभामुखमा थापा निश्चित भएका छन् । सभामुखमा मनोनयनपछि थापाले सबैसंग समन्वय गरेर अगाडि बढ्ने बताए । ‘प्रदेश संसदमा सत्ता र प्रतिपक्ष सबैलाई मिलाएर लैजान्छु’ उनले भने ।

प्रदेश नम्बर ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने र सभामुख एमालेले लिने वाम गठबन्धनबीच सहमति भएको थियो । माओवादी केन्द्रले डोटीबाट निर्वाचित भट्टलाई मुख्यमन्त्री बनाउन केन्द्रमा सिफारिस गरिसकेको छ । प्रदेश सभामा वाम गठबन्धनको बहुमत छ । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् । एमाले, काँग्रेस र राष्ट्रिय जनता पार्टीले संसदीय दलको नेता चयन गर्न सकेका छैनन् ।