☰ open Loading... 3 May 2024|  

शाहीकाे राजनीतिक यात्रा : डिभिजन कमाण्डदेखी प्रदेश ६ को मुख्यमन्त्रीसम्म
  | ३ फाल्गुन २०७४, बिहीबार १९:२१

प्रदेश ६ को मुख्यमन्त्रीमा शाही नियुक्त

सुर्खेत । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेद्रबहादुर शाही नियुक्त भएका छन् । पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष बिहिबार साँझ दावी पेश गरिएको थियो ।

 

दावी पेश गरेसँगै शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै मुख्यमन्त्रीमा चयन भएपनि शपथग्रहण भने शुक्रबार दिउँसो हुनेछ । शुक्रबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ ।

सञ्चारकर्मीसंग बोल्दै मुख्यमन्त्री शाहीले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र प्रदेशका जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रदेश ६ भागबण्डामा एमालेको भागमा परेपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो । प्रदेश ६ मा जम्मा ४० सांसद मध्ये एमालेका २० र माओवादीका १३ गरी वामगठबन्धनका ३३ जना छन् भने कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।

डिभिजन कमाण्डदेखी प्रदेश ६ को मुख्यमन्त्रीसम्म

कालीकोटको विकट पचालझरना गाउँपालिका (साविकको नानिकोट–८) मा ०३३ माघ १५ गते मध्यम वर्गीय परिवारमा शाही जन्मिएका हुन् । २ वर्षकै उमेरमा बुवा गुमाएका शाहीको बाल्यकाल गाउँमै वित्यो । उनी कालिकोट निर्वाचन क्षेत्र ख बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

०४८ सालमा नेकपा मसाल एकता केन्द्रबाट शाहीले राजनीतिक यात्रा शुरु गरेका हुन् । तर ०४९ सालमै प्रहरीले वारेन्ट जारी ग¥यो ।

०५२ बाट भूमिगत रुपमा सशस्त्र द्वन्द्वमा होमिएका शाही ०५३ मा मध्यमाञ्चलको गुरिल्ला संगठनमा सदस्यदेखी लडाकु जीवनमा प्रवेश गरेका हुन् । उनले यो क्रममा राजनीतिक र फौजी दुवै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै सशस्त्र युद्वमा सरिक भएका थिए ।

पश्चिम नेपालको बुटवलदेखी दार्चुलासम्म हुने जुनसुकै जनयुद्वमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रक्रियाहुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा होमिएका थिए ।

सुरुमा वार्ड, स्क्वाड, प्लाटुन, कम्पनी, बटालियन, विग्रेडहुँदै डिभिजन कमाण्डर भएका शाहीले नेपाली सेनामा समायोजनको बेलामा सम्मानजनक पद नपाएपछि पार्टीको मुलधार राजनीतिमा लागेका थिए ।