☰ open Loading... 17 May 2024|  

जाजरकाेटकाे बारेकाेटमा खाद्यन्न अभाव
  | ५ फाल्गुन २०७४, शनिबार १२:२९

जाजरकोट । बारेकोट गाउँपालिका क्षेत्रमा एक महिनायता खाद्य अभाव भएको छ । यतिबेला बारेकोटमा पुरानो अन्न सकिएको तर नयाँ बाली नपाकेको र अनुदानको चामल डिपोमा ढुवानी नहुँदा खाद्य अभाव देखिएको खवर कान्तिपुरमा छ ।

सपना एन्ड सरोज कन्स्ट्रक्सन कम्पनी जाजरकोटले बारेकोटको घाट डिपोमा चामल ढुवानी गर्न लापरबाही गरेको छ । कम्पनीले खाद्य संस्थान शाखा कार्यालय खलंगाबाट १ सय ८७ क्विन्टल चामल चलानी बुझे पनि घाट डिपोमा १ सय २० क्विन्टल मात्रै पुर्‍याएको छ ।

कम्पनीले चलानी बुझेमध्येको ६७ क्विन्टल चामल खुर्पा, फुलचाउँलीलगायत स्थानमा अलपत्र परेको बारेकोट १, सिर्पाचौरका हरिबहादुर थापा बताउँछन् । उनका अनुसार बारेकोट डिपोमा पुगेको चामल स्थानीयबीच खोसाखास हुने गर्छ । डिपोमा चामल नहुँदा बारेकाटका बासिन्दालाई खाद्य समस्याले सताएको हो ।

४/५ घण्टा पैदल हिँडेर डिपो पुगेका सर्वसाधारण चामल नपाएर रित्तो फर्कन बाध्य छन् । ‘यतिबेला बारेकोट क्षेत्रका रामीडाँडा, नायकबाडा, सक्ला र रोकायगाउँका २० हजार सर्वसाधारणले खाद्य अभावको समस्या बेहोर्नुपरेको छ,’ उनले भने, ‘बारेकोटमा सधंै खाद्य अभाव हुने गरेको छ ।’

बारेकोट क्षेत्रमा धानलगायत अन्न उत्पादन कम हुनाले स्थानीय बासिन्दा बर्सेनि खाद्य अभावको मारमा पर्ने गरेको बारेकोट ४ का नेत्र सिंहले बताए । उनका अनुसार खाद्य संस्थानको डिपोमा नियमित चामल पाउने व्यवस्था नहुँदा झनै समस्या भएको छ ।

‘डिपो छ, चामल पाइँदैन,’ उनले भने, ‘घाट डिपोमा वर्षमा एक/दुई पटकभन्दा बढी चामल पाउन मुस्किल हुन्छ ।’ खाद्य संस्थान र सम्बन्धित ढुवानी व्यवसायीको लापरबाहीले डिपोमा चामल नपुग्ने उनको भनाइ छ । खाद्य अभावपछि स्थानीय बासिन्दा मोटो चामल प्रतिकिलो ६० रुपैयाँमा किनेर गुजारा चलाउन बाध्य भएको स्थानीय रामछाया सिंह बताउँछिन् ।

‘डिपोमा कहिल्यै चामल पाइँदैन,’ उनले भनिन्, ‘खाद्यको अनुदान चामल नपाउँदा पसलको महँगो चामल किनेर गुजारा चलाउनुपर्छ ।’ घाट डिपोका लागि ढुवानीकर्ता व्यवसायीको लापरवाहीले गर्दा चामल समयमा पुग्न नसकेको शाखा प्रमुख रामबहादुर बस्नेतले बताए । घाट डिपोसम्म चामल ढुवानीका लागि सडक मार्गको पहुँच नहुँदा पनि समस्या भएको उनको भनाइ छ ।

माघ मसान्तसम्म ७ सय क्विन्टल चामल ढुवानी गरी सक्नुपर्नेमा २ सय क्विन्टल पनि ढुवानी नभएको उनले जनाए । ब्यवसायीले चामल ढुवानीका लागि कार्य सम्पादन जमानतै राख्न नसक्दा र घोडाखच्चड नपाउँदा डिपोतर्फ चामल चलानी नभएको उनले बताए ।

‘आगामी असारमसान्तसम्म घाट डिपोमा २ हजार क्विन्टल चामल ढुवानी गर्नुपर्नेछ,’ उनले भने, ‘चालु आवमा घाट डिपोबाट हजार क्विन्टल नियमित कोटाको र हजार क्विन्टल थप कोटाको चामल वितरण हुनेछ ।’

बारेकोटमा चामल ढुवानी गर्न पटकपटक ताकेता गर्दा पनि व्यवसायीले नटेरेको उनले बताए । जिल्ला खाद्य व्यवस्थापन समितिले पनि सम्बन्धित ब्यवशायीलाई छिटोभन्दा छिटो चामल ढुवानीका लागि ताकेता गर्ने निर्णय गरेको उनले सुनाए । घाट डिपोमा तत्काल चामल ढुवानी व्यवस्था मिलाउन लागेको कन्स्ट्रक्सनका प्रोपाइटर जितबहादुर सुनारले बताए ।

खुर्पादेखि घाटसम्मको प्रति क्विन्टलको १२ सय रुपैयाँ भाडा दिँदा पनि ढुवानी गर्ने घोडाखच्चड फेला पर्न नसकेको उनको भनाइ छ । संस्थानको सदरमुकाम खलंगास्थित गोदाममा भने १४ सय क्विन्टल चामल मौज्दात छ ।

शाखाका लागि चामल आपूर्ति हुने क्रम जारी रहेको शाखा प्रमुख बस्नेतले जनाए । शाखाको ३ हजार क्विन्टलमध्ये १६ सय क्विन्टल आपूर्ति भइसकेको छ । संस्थानले मोटा, मकवानपुर र मध्यम चामल अनुदानमा प्रतिकिलोको ३५ देखि ४२ रुपैयाँमा उपलब्ध गराउने गरेको छ