☰ open Loading... 27 November 2024|  

प्रदेश ६ को मन्त्रीपरिषद् आइतबार विस्तार हुने
  | ५ फाल्गुन २०७४, शनिबार १७:०५

डेस्क समाचार
सुर्खेत । प्रदेश ६ को मन्त्रीपरिषदु्ले भोली (आईतबार) विस्तार हुने भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएका महेद्रबहादुर शाहीले शुक्रबार सपथ खाएकै दिन मन्त्रीपरिषद् विस्तार गर्ने तयारी थालिएपनि आंकाक्षी बढी भएका कारण मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन् ।


एमालेले ४ र माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ ओटा मन्त्रालय सम्हाल्ने सहमति भएको छ । सोही अनुसार एमाले र माओवादी केन्द्रले क–कस्लाई मन्त्रीपरिषद्मा पठाउने भन्ने विषयमा अन्तिम गृहकार्यमा जुटेका छन् ।

माओवादी केन्द्रले नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनउने गरी छलफल जारी राखेको एक माओवादी नेताले बताए । उनका अनुसार आइतबारसम्म अन्तिम निर्णय गरेर प्रदेश सरकारमा पठाउने रणनीतिमा माओवादी केन्द्र लागेको छ ।

यता, एमालेले पनि मन्त्रीपरिषद्मा क–कस्लाई पठाउने भन्ने विषयमा अन्तिम निर्णय गरेको छैन् । आंकाक्षीहरु धेरै भएकै कारण कुनै सहमति नभएपनि आइतबारसम्म एमालेले चार जनालाई मन्त्रीपरिषद्मा पठाउने गृहकार्यमा जुटेको एमाले नेताहरु बताउँछन् ।

एमालेमा दल रावल, खड्क खत्री र प्रकाश ज्वाला लगभग निश्चित भएपनि थप एक जना कस्लाई मन्त्रीपरिषद्मा पठाउने भन्ने विषयमा टुंगो नलागेको स्रोतले जनायो । तर संसदीय दलका नेता यमलाल कंडेलले मन्त्रीपरिषद्मा कस्लाई पठाउने भन्ने विषयमा टुंगोमा नपुगेको बताउँछन् ।

स्रोतका अनुसार आन्तरिक रुपमा दुवै दलले आईतबार विहानसम्म मन्त्रीपरिषद्मा सहभागी हुने मन्त्रीहरुको नाम र मन्त्रालयहरुको भागबण्डा गरेर पठाउने गृहकार्यमा छन् ।