☰ open Loading... 24 February 2025|  

मन्त्री हुन नपाएपछि सांसद शाहीले दिए राजिनामा
  | ७ फाल्गुन २०७४, सोमबार ११:२९

पश्चिमनेपाल सम्वाददाता
सुर्खेत । प्रदेश नम्बर ६ को मन्त्रिपरिषद गठनमा गुट–उपगुटको राजनीति गरेर अन्याय गरेको भन्दै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित शाहीले सांसद र पार्टीको साधारण सदस्यबाटै राजिनामा दिएका हुन् ।


प्रदेश सभामुखको दावेदार रहेका शाही मन्त्रीका आकांक्षी थिए । सभामुखमा दैलेख निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित सांसद राजबहादुर शाही बनेपछि असन्तुष्ट थिए ।

‘हुलाकबाट सभामुखलाई सांसद पदबाट राजीनामा दिएको पत्र पठाएको छ’ शाहीले भने,–‘पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी एमालेको पार्टी कार्यालय बल्खु काठमाडौं जाँदैछु ।’ पदभन्दा पनि पार्टी भित्र गुट–उपगुट हावी भएकाले प्रदेश ६ को मन्त्रीपरिषद् विस्तारमा चित्त नबुझेपछि राजीनामा दिएको शाहीले जानकारी दिए ।

‘पार्टीमा लामो समयसम्म राजनीतिक गरेका व्यक्तिभन्दा नवप्रवेशीले प्राथमिकतामा पर्दा अन्याय सहन सकिन’ शाहीले थपे,–‘यस्तो पार्टीमा पीडा वहन गरेर बस्नुभन्दा राजीनामा दिनु उचित ठानेर काठमाडौं आएको हुँ ।’

अन्य पार्टीबाट प्रवेश गरेका, ठेकदार, एनजिओकर्मीलाई मन्त्री बनाएको आरोप शाहीको छ । ०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका बताएका शाहीले मुगुमा एमालेबाट चुनाव जित्ने पहिलो व्यक्ति भएको जानकारी दिए ।

उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए र हाल पार्टीको सल्लाहकार छन् । ०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका शाही १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए । उनी यसअघि एमालेको कर्णाली अन्चल समन्वय कमिटी सदस्य थिए ।

किन भएनन शाही मन्त्री ?
एमाले संसदीय दलले चन्द्रबहादुर शाहीलाई पनि मन्त्री बनाउने निर्णय गरेको थियो । माओवादीबाट मन्त्री बनेका नरेश भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने निर्णय संसदीय दलले गरेको थियो ।

तर अन्तिम अवस्थामा माधव नेपाल प्यानलकै प्रकाश ज्वालालाई पार्टीको केन्द्रीय कमिटीबाट फोन आएपछि शाहीलाई ब्यक हुनु परेको एक एमाले नेताले बताए ।

उनका अनुसार माथीबाटै आएको फोनकै आधारमा मन्त्री शाहीलाई ज्वालाले उछिनेका हुन् । तर शाहीले यो भनाईको खण्डन गर्दै पार्टी भित्रका केही नेताहरुको व्यक्तिगत स्वार्थ र गुटले आफूहरुलाई अन्यायमा पार्ने काम गरेको बताउँछन् ।