☰ open Loading... 29 March 2024|  

प्रदेश ६ का १५३ कर्मचारी अझै बेपत्ता
  | ८ फाल्गुन २०७४, मंगलवार १२:४७

सुर्खेत । संघीय सरकारले प्रदेश ६ मा खटाएका २ सय १५ कर्मचारीमध्ये १ सय ५३ जना अझै उपस्थित भएका छैनन् । सोमबारसम्म प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा र विभिन्न मन्त्रालयमा ६२ कर्मचारी मात्रै हाजिर भएका छन् ।

प्रदेश प्रमुख तथा प्रदेश सभाको कार्यालय ५ माघदेखि नै सञ्चालनमा आएका छन् । मुख्यमन्त्री र मन्त्रीहरू नियुक्त भइसकेका छन् । तर, कर्मचारी नआउँदा कामकाज प्रभावित भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले केन्द्रले पठाएका कर्मचारीका विषयमा जानकारी नआएको र उनीहरू पनि सम्पर्कमा नआएको बताए ।

प्रदेश सभा सचिवालयमा केन्द्रीय संसद्बाट सहसचिव कृष्णहरि खड्काको नेतृत्वमा आएको चारजनाको टोलीले अधिवेशन सञ्चालन तथा सभामुख निर्वाचनलगायतका काम गरेको थियो । तर, सचिवालयमा खटाएका २८ मध्ये चारजना कर्मचारी मात्रै हाजिर भएकाे खवर नयाँ पत्रिका दैनिकमा छ ।

दरबन्दी २१५ मा जम्मा ६२ जना मात्रै आए
संघीय सरकारले प्रदेश ६ मा २ सय १५ कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । तर, प्रदेशमा खटाएका कर्मचारीको जानकारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएको छैन ।

प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा सचिवालय, मुख्यमन्त्रीसहित सात मन्त्रालयमा ६२ कर्मचारी मात्रै हाजिर भएका छन् । त्यसमा शाखा अधिकृत, उपसचिव र सहसचिव तहका २४ र खरिदार, नायब सुब्बा तहका ३८ कर्मचारी छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २४ जना कर्मचारी सम्पर्कमा आए पनि उपस्थित भएका छैनन् । त्यसमा शाखा अधिकृत, उपसचिव र सहसचिव तहका ११ र खरिदार, नायब सुब्बा तहका १३ जना छन् ।

भौतिक पूर्वाधार मन्त्रालयबाहेक अन्य मन्त्रालयमा सचिव आएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन सचिव यज्ञराज बोहोरा हाजिर भए पनि कानुन सचिवको टुंगो छैन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केशव आचार्य, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ढुण्डी निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विद्यानाथ झा हाजिर भइसकेका छन् ।

सामाजिक विकास मन्त्रालयमा गिरिजा शर्मा आउने भनिए पनि हाजिर भएका छैनन् । उनी दक्षिण कोरियाको भ्रमणमा रहेको जनाइएको छ ।

दुई उपसचिव घुमेर फर्किए
प्रदेश प्रमुखको कार्यालय पनि चारजना कर्मचारीकै भरमा छ । कार्यालयको सचिवका रूपमा सहसचिव रहने व्यवस्था भए पनि शाखा अधिकृत निर्मला रेग्मीले चलाइरहेकी छिन् । खटाएका दुई उपसचिव एक दिन घुमेर फर्केका छन् ।

स्वास्थ्य मन्त्रालयबाट राजीव पोखरेल र यातायात कार्यालय बाँकेबाट विनोद पोखरेल प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएका थिए । तर, दुवैजना रमाना लिएर नआएपछि हाजिर नगरी फर्केका छन् ।

कहाँ कति आए कति आएनन् ?
प्रदेश प्रमुखको कार्यालय
दरबन्दी : १३
आएका : १०
नआएकाः ३
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
दरबन्दी : २१
आएका : १२
नआएकाः ९
प्रदेश सभा सचिवालय
दरबन्दी : २८
आएका : ४
नआएकाः २४
आन्तरिक मामिला तथा कानुन मन्त्रालय
दरबन्दी : २३
आएका : ९
नआएकाः १३
आर्थिक मामिला तथा योजना मन्त्रालय
दरबन्दी : १८
आएका : ७
नआएकाः २१
भौतिक पूर्वाधार तथा विकास मन्त्रालय
दरबन्दी : २४
आएका : ३
नआएकाः २१
सामाजिक विकास मन्त्रालय
दरबन्दी : ३०
आएका ः २
नआएकाः २८
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय
दरबन्दी : २९
आएका : ३
नआएकाः २६
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
दरबन्दी : २९
आएका : ८
नआएकाः २१
जम्मा : २१५
आएका : ६२
नआएकाः १५३