☰ open Loading... 19 April 2024|  

सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै
  | ८ फाल्गुन २०७४, मंगलवार १७:४५

बुद्धिमान पुन
सल्यान । सल्यानमा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका छन् । जिल्ला अदालत सल्यानमा अहिले सबैभन्दा बढी मुद्दा सम्बन्ध बिच्छेदको आउने गरेको अदालत स्रोतले जनाएको छ । अहिले दैनिक रुपमा नै सम्बन्ध विच्छेदका मुद्दाहरु आउने गरेको जिल्ला अदालत सल्यानले जनाएको छ ।

गत बर्षको तुलनामा यस बर्ष सल्यानमा सम्बन्ध बिच्छेदका घटनामा बृद्धि भएकोे जिल्ला अदालत सल्यानको तथ्याङकमा उल्लेख रहेको छ । यस आर्थिक बर्षको साउन देखि यता मात्र ७३ वटा सम्बन्ध बिच्छेदका घटना दर्ता भएको जिल्ला अदालत सल्यानले जानकारी दिएको छ ।

बितेको ७ महिना यता जिल्ला अदालत सल्यानले ९१ वटा घटना फैसला गरेकोेमा सबै भन्दा बढी सम्बन्ध बिच्छेदका घटनाहरु फैशला भएको छ । यो अवधिमा सम्बन्ध विच्छेदका ३३ वटा मुद्दा फैसला भएको अदालतले जनाएको छ ।

फैसला भएका मध्य अंश बन्डा सहित सम्बन्ध बिच्छेदका १८ वटा मुद्दा रहेका छन भने केही नलिएर सम्बन्ध बिच्छेद गर्ने १० वटा मुद्दाको फैसला भएको छ । अदालतका अनुसार गत आर्थिक बर्ष ०७३ ÷०७४ मा ९५ थान सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।

जिल्ला अदालतमा महिलाहरु सम्बन्ध विच्छेदे गर्ने भनेर दैनिक जसो आउने गरेको अदालका श्रेस्तेदार गणेश कुमार गौतमले बताए । उनले भने –‘कहिले काँही त एक दिनमा २ देखी ३ वटा सम्म सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुन्छन ।’ सम्बन्ध विच्छेद गर्ने महिलाहरुको संख्या अहिले दिनानुदिन बढदै गएकोे छ ।

उनले भने –‘सम्बन्ध विच्छेद गर्न आउनेहरुको उमेर देख्दा दया लागेर आउँछ, बिहे गर्ने उमेर न पुगेका किशोरी समेत छोराछोरी लिएर सम्बन्ध विच्छेद गर्न आएका हुन्छन ।’ सम्बन्ध विच्छेद गर्नेहरुको दर यसरी नै बढ्दै गयो भने अबको केही वर्षमा जिल्लाका प्रत्येक घरमा सम्बन्ध विच्छेद भएको घर भनेर चिनिने बताउदैँ उनले यो कार्य हाम्रो समाजको लागी दुर्भाग्यपुर्ण हुने बताए ।

सामान्यतया विवाहपछि लोग्ने र स्वास्नी बिच कुनै ठुलै कारणले कुरा मिलेन भने सम्बन्ध विच्छेद हुन्छ तर सल्यानमा भने बाल विवाह, विपन्न्ता, मोबाईल फोनको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले सम्बन्ध विच्छेद बढ्दै गएको छ । सम्बन्ध विच्छेद गर्न आउने लाई मेलमिलापका लागी धेरै सम्झाउने समेत गरेको अदालत स्रोतको भनाई छ ।

श्रेस्तेदार गौतमले भने –‘बच्चाहरु सानो हुँदा अभिभावकहरु कुनै कारणवश सम्बन्ध विच्छेद गर्छन, त्यसपछि बच्चाको जिम्मेवारी एक्लैले राम्रो संग पुरा गर्न सकिदैन, जस्को प्रत्यक्ष असर बच्चालाई पर्छ, यस्ता कारणले पनि फेरी सानै उमेरका ति बच्चाहरु अपराधिक कृयाकलापमा संलग्न भएको भेटिन्छन भने कतिपय बाल विवाहको शिकार हुन्छन ।’