☰ open Loading... 23 December 2024|  

प्रधानमन्त्रीका विकास सपनासँग कर्णालीलाई जोड्नु छ : गोपाल बम
  | ९ फाल्गुन २०७४, बुधबार १९:०१

मुगु जिल्लाले वामपन्थी आन्दोलनलाई सधैं विश्वास गर्दै आएको छ । दुर्गम भए पनि विकासका सम्भावना बोकेको यो जिल्ला अहिले राजनीतिक कारणले चर्चामा छ । आफूलाई मन्त्री नबनाएको भन्दै प्रदेश सभामा एमालेको तर्फबाट मुगुलाई प्रतिनिधित्व गर्ने सांसद चन्द्रबहादुर शाहीको राजीनामाका कारण जिल्लाको राजनीति एकाएक तात्यो । के शाहीले राजीनामा गरेकै हुन् ? यदि हो भने उनको राजीनामा के होला ? यसै सेरोफेरोमा रहेर मुगुबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित नेकपा एमालेका संघीय प्रतिनिधि सभा सदस्य गोपाल बमसँग गरेको कुराकानीः

संघीय संसदमा प्रत्यक्ष तर्फबाट जितेर आउनुभएको छ, कस्तो छ प्रारम्भिक अनुभव ? 
एकसरो जनताको गर्दैलोमा पुगेर सबैलाई धन्यबाद दिएको छु । अघिल्लो पटक नै चुनाबमा उठ्ने दवाब थियो । सहमतिमा मोहन बानियाँजीलाई जिताएर पठायौं । अहिले पार्टीको जिल्ला अध्यक्ष, सामजिक काममा सक्रिय भएका कारण झन् ठूलो दवाब आयो । केन्द्र र प्रदेशमा संसदका तीन मध्ये सबै सीट जिताए जनताले । अब त्यो विश्वास कसरी पूरा गर्ने भन्ने तयारीमा छु ।

के छन् त योजना ? 
हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको जुन सपना देख्नुभएको छ, त्यो नै मुगुको पनि सपना हो । त्यो सपनासँग म, मेरो प्रदेश, अञ्चल र जिल्लालाई जोड्न चाहन्छु । गमगढीदेखि ९० किमिको दूरीमा चिनियाँ नाका छ, जुन बार्है महिना चल्न सक्छ । त्यसलाई विकसित गर्नुछ । मुगुमा साना १० वटा मात्र पुल हाल्यो भने पुराना सबै गाबिसहरु मोटर बाटोले जोडिन्छन् । त्यो पूरा गर्नुछ । मुगु जिल्लामा नै १२ सय मिटरको उचाइमा धान फल्ने बेंसी र १४ सय मिटरको उचाइमा स्याउ फाल्ने लेक छन् । तिनको बिकास गर्नुछ ।

तपाईंलाई थाहा छ समग्र कर्णाली विकास सूचांकमा पछाडि परेको छ । यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, शौचालय, सफाई, संचार, जडिबुटी सबै क्षेत्रमा जिल्ला र समग्र प्रदेशको विकास नै मेरा योजना हुन् । म पर्यटन ब्यवासायी समेत भएकाले जिल्लामा भएका पर्यटन सम्भावनालाई सदुपयोग गर्ने मेरो पहल रहनेछ ।

मुगुका प्रदेश सभा सदस्य चन्द्र बहादुर शाहीले पदबाट राजीनामा गर्नभएको भन्ने खबर सुनियो, के हो विषय ? 
मैले पनि त्यस्तै सुनेको हो । तर मलाई पत्यार लागिरहेको छैन । उहाँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ, त्यसो नगर्नु पर्ने हो ।

राजीनामा दिनुपर्ने कारण चाहिँ के परेछ ? 
प्रदेशमा मन्त्रिपरिषद गठनबारे उहाँका गुनासा रहे भन्ने सुनेको हो । उहाँलाई ०५६ सालमा समेत हामीले नै मुगुका जनताको सहयोगमा सांसद निर्वाचित गरेका हौं ।  उहाँ पार्टीको केन्द्रीय सल्लाहकार सदस्यसम्म बन्नुभयो । तर यति सानो विषयलाई लिएर, प्रदेश इन्चार्जलाई समेत गम्भीर आरोप लगाउंदै उहाँले राजीनामाको कुरा गर्नु हुने थिएन । गर्नुभो भन्ने विश्वास पनि लाग्दैन ।

तर मिडियामा त आइसक्यो नि ? 
त्यै त चकित छौं हामी । म जिल्लाका साथीहरु सँग निरन्तर सम्पर्कमा छु । उहाँसँग कुरा हुन सकेको छैन । केहि सिमित व्यक्तिको उक्साहटमा उहाँ अलिक आवेगित हुनुभो जस्तो लाग्छ, उहाँसँग कुरा भएपछि मात्र निष्कर्षमा पुग्न सजिलो होला ।

राजीनामा आइसकेको हो त ? 
यसमा जानुअघि दुईवटा कुरा भन्छु । पहिलो, सांसद पद ठट्टा गर्ने विषय होइन. जसरी मिडियामा उहाँको नाम लिएर आएको छ, त्यस्तो सजिलो होइन । दोस्रो, प्रदेश मन्त्रीपरिषद गठन सम्बन्धी बैठकमा उहाँ समेत बसेर छलफल भएको भन्ने आएको छ, प्रदेश कमिटीका साथिहरुसँग कुराकानीमा । त्यसैले आफूसमेत सामेल बैठकका निर्णयबाट उहाँले पछि हट्न मिल्दैन । यसकारण उहाँले सांसद पदबाट राजीनामा दिनु पर्दैन । यति गर्दा पनि, सम्झाउँदा पनि यदि दिनुभो भने सम्बन्धित कमिटीसँग विकल्प रहँदैन, स्वीकृत गर्नुपर्छ ।

फेरि चुनाब गर्ने ? 
अर्को के बिकल्प छ त ?

चक्रपथबाट