☰ open Loading... 23 December 2024|  

अदुवाबाट वार्षिक ५ लाख आम्दानी
  | ११ फाल्गुन २०७४, शुक्रबार १७:२१

सुर्खेत । सुर्खेतको वराहताल गाउँपालिका–१ तेलपानीका तोपबहादुर कठायतले अदुवा बेचेर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गरेका छन् । वार्षिक ६/७ सय क्वीण्टल अदुवा उत्पादन गर्ने उनी यतिबेला प्रख्यात अदुवा उत्पादन किसानका रूपमा चिनिएका छन् ।

गाउँकै आमा समूहबाट ५ सय रुपैयाँ ऋण लिएर व्यावसायिक अदुवाखेती थालेका कठायतले ५० किलो अदुवा लगाएर पहिलोपटक ७ हजार रुपैयाँ आम्दानी गरेका थिए । अदुवाको त्यो आम्दानीले नै उनलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्‍यो । कठायतले अरू गाउँलेलाई पनि अदुवा र बेसार खेती गर्न प्रेरित गरेका छन् ।

अहिले तेलपानीमा मात्रै अदुवा र बेसार उत्पादन गर्ने तीनओटा समूह छन् । गङ्गानाथ मसलावासी कृषक समूहका अध्यक्षसमेत रहेका कठायतलाई आयोजनाले १० लाख ९२ हजार रुपैयाँ अनुदान दिएको थियो ।

आयोजनाको सहयोगमा समूहले उन्नत बीउ, कटिङ मेशिन, उमाल्ने ड्रम, ढक, तराजु, सोलार ड्रयर खरीद गरेको थियो । यस्तै किसानले सिँचाइ पोखरी, कुलो निर्माण तथा मर्मत, बीउ राख्ने खाडल निर्माण, अदुवा र बेसार उत्पादन र बजारीकरणसम्बन्धी तालीममा उक्त सहयोग खर्च गरेको अध्यक्ष कठायतले जानकारी दिए ।

कठायतले अदुवा र बेसारको बीउ सफा गर्न ट्याङ्की निर्माण गरेका छन् । ट्याङ्कीमा एकपटकमा सात क्वीण्टलसम्म अदुवा र बेसार सफा गर्न सकिन्छ ।