☰ open Loading... 18 November 2024|  

कर्णालीमा यस्तो छ मन्त्रीहरूको सुरक्षा व्यवस्था
  | १४ फाल्गुन २०७४, सोमबार ०८:१९

सुर्खेत  । कर्णाली प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीलगायतका विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ–आफ्नै तरिकाले गरिरहेका छन् । नयाँ पत्रिकामा समाचार छ ।

फायल तस्वीर

प्रदेश प्रमुख दुर्गाकेशर खनालको सुरक्षा प्रबन्ध सशस्त्र प्रहरीले मिलाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

सभामुख र उपसभामुखलाई नेपाल प्रहरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

मन्त्रालय सहज प्रवेश 

कर्णाली प्रदेशका सबै मन्त्रालयमा सर्वसाधारणले सहज रूपमा प्रवेश पाउने गरेका छन् । मन्त्रालय प्रवेशद्वारमा समान्य सोधपुछसमेत हुने गरेको छैन ।

मन्त्रालयमा सुरक्षाकर्मी पनि खटाइएका छैनन् । सरकारले मन्त्रालयको सुरक्षा गर्ने जिम्मा कुनै पनि निकायलाई नदिएकाले सुरक्षाकर्मी परिचालन हुन नसकेको प्रदेशका प्रमुख सचिव सुरेश प्रधानले बताए ।

सुरक्षाकर्मी बस्ने संरचना निर्माण भइरहेको बताउँदै प्रमुख सचिव प्रधानले भने, ‘क्षेत्रीय कार्यालय र मन्त्रालयको काम एउटै भवनबाट भइरहकाले पनि गेटमा सुरक्षा जाँच गर्ने व्यवस्था मिलाउन कठिनाइ भएको छ ।’

सर्वसाधारण खुसी 

संघीय सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिल्लामा जाँदा ‘सवारी’का नाममा दुःख पाउने सर्वसाधारण, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको सहज आवागमनप्रति भने खुसी छन् ।

झन्डासहितको गाडी भए पनि सर्वसाधारणले झै आवतजावत गरेको देख्दा खुसी लागेको स्थानीय बासिन्दा राजकुमार जैसीको भनाइ छ ।

उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्री आएरगएको थाहै हँदैन, झन्डावाल गाडी देखेपछि ठम्याउने मात्रै हो ।’

आइतबार सामाजिक विकासमन्त्री दल रावल वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदा आयोजक नै अकमकिए ।

मन्त्री रावलका स्वकीय सचिव चन्दबहादुर रोकायले भने, ‘सुरक्षाकर्मीको स्कटिङसहित आउँछन् कि भन्ने सोचेका थिए, होलान् । खुरुखुरु कार्यक्रमस्थल पुग्दा आयोजक नै केहीबेर अलमलमा परे ।’

गृहमन्त्रीलाई सशस्त्रको सुरक्षा 

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको सुरक्षा व्यवस्था सशस्त्र प्रहरीले गरिरहेको छ ।

उनका लागि सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा सात सुरक्षाकर्मी खटिएको सशस्त्र प्रहरी बल रक्तकाली गण, बांगेसिमलका एसपी सुदेशकुमार गुरुङले बताए ।

उनले भने, ‘मन्त्रीको व्यक्तिगत सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएका छन् ।’ मन्त्रीका लागि असईको कमान्डमा एकजना हवल्दार परिचालन गरिएको छ ।

त्यस्तै, सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्तीको सुरक्षा नेपाल प्रहरीले गरिरहेकोे छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार सभामुख र उपसभामुखको सुरक्षाका लागि दुईरदुईजना प्रहरी परिचालन गरिएका छन् ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको छ । प्रदेश प्रमुखका लागि असई र हवल्दार परिचालन गरिएका छन् । यसअघि नेपाली सेनाको टोली खटिएको थियो ।

व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको भए पनि सवारी साधन नहुँदा स्कटिङको व्यवस्था गर्न नसकिएको सशस्त्र प्रहरी बल रक्तकाली, गणका प्रमुख गुरुङले बताए ।

तत्काल गाडी खरिद गर्न बजेट पनि नभएको उनको भनाइ छ ।