☰ open Loading... 1 May 2024|  

सदरमुकाममै वडा सचिव
  | १७ फाल्गुन २०७४, बिहीबार ११:४८

कालिकोट ।  तीन नगर र ६ गाउँपालिका रहेको जिल्लाका अधिकांश वडामा सचिव छैनन् । जिल्लाभर ८२ मध्ये ७९ वडामा सचिव छैनन् । सचिव नहुँदा सेवाग्राही मर्कामा छन् । वडा कार्यालयले दिने जन्म, मृत्यु, विवाह दर्ता, नागरिकता सिफारिस, सामाजिक सुरक्षालगायत सेवा सचिव अभावमा प्रभावकारी हुन सकेको छैन । सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाका ११ वटै वडा सचिवविहीन छन् ।

खाँडाचक्र नगरका सबै बासिन्दा जन्म, मृत्यु, विवाह दर्तालगायत काम गर्न सदरमुकाम मान्मस्थितनगरपालिकाको कार्यालय धाउन बाध्य छन् । नगरपालिकाले गाउँबाट घण्टौं हिँडेर आएका सेवाग्राहीको काम जिल्ला प्रशासनबाट काजमा आएका राजकुमार नेपालीले गरिरहेका छन् ।

उपसचिव तहको प्रशासकीय अधिकृत हुनुपर्ने यहाँका खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा शाखा अधिकृत तहका कर्मचारी प्रशासकीय अधिकृत भए पनि रास्कोटका कुलराज सुवेदी सरुवा भएर गएपछि नासु तहका वीरेन्द्र माझी निमित्त छन् । यहाँका सान्नीत्रिवेणी, पचालझरना, नरहरिनाथ र महाबै गाउँपालिकामा सुब्बास्तरका पुरानै गाविस सचिव क्रमशस् दुर्गबहादुर बुढा, छक्कबहादुर शाही, धर्मेन्द्र शाह र नन्दप्रसाद देवकोटाले प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गरिरहेका छन् । सान्नीत्रिवेणीका दुर्गबहादुरले राजीनामा दिएपछि अचेल लेखा अधिकृत मलिम रावतले प्रशासकीयको जिम्मेवारी पनि लिएका छन् ।

‘स्थानीय तहमा कर्मचारीकै समस्या छ,’ खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले भने, ‘वडामा सचिव छैनन्, कसरी सेवा दिने रु’ उनले बरु गाविस हुने बेला गाउँमा नागरिकले सेवा पाए पनि संघीय संरचनामा कर्मचारी व्यवस्थापन नहुँदा जनताले सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको सुनाए । नगरका ११ वटै वडामा सचिव नभएको बताउँदै उनले सिंहदरबार गाउँ आयो भनेर प्रचार मात्र भएको सुनाए ।

दरबन्दीअनुसारका अन्य कर्मचारी पनि उनको नगरपालिकामा छैनन् । आयोजना अनुगमन गर्न कठिनाइ छ । खाँडाचक्रमा सबै गरी ३२ कर्मचारी दरबन्दी भए पनि नियमित हाजिर हुने आधा मात्र छन् । कर्मचारी अभावमा विकास निर्माण, समाजिक सुरक्षा, नगरको वार्षिक योजनाअनुसारको काम गर्न कठिनाइ भएको नगरपालिकाले जनायो ।

धेरैजसो कर्मचारी त विषयगत कार्यालयबाटै नआएको प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनी बताउँछन् । उनले कर्मचारी अभावमा काम गर्न कठिनाइ भएको सुनाए । वडा कार्यालयमा कार्यालय सहयोगी स्थानीय राखिए पनि सचिव नभएकाले रेकर्ड भिडाउन पनि कठिनाइ भएको बताए । महिला तथा बालबालिका, घरेलु, वन, शिक्षालगायतबाट कर्मचारी नगरमा आएका छैनन् । एक स्रोत व्यक्ति नगरमा छन् । कृषिबाट नगरमा हाजिर भएका बागबानी अधिकृत भक्तिप्रसाद शर्मा कार्यालय प्रमुख नभएपछि अचेल जिल्ला कृषिमै गएका छन् ।

नगरका योजनाको डिजाइन, स्टिमेट, कार्य सम्पन्न मूल्यांकन र फिल्ड सुपरिभिजनमा संलग्न इन्जिनियर रत्न भण्डारीलाई कामको चटारो छ । ‘विगतको जस्तो जेठरअसार लागेपछि योजनाको सम्झौता गर्ने काम यस वर्ष हुँदैन,’ भण्डारीले भने, ‘काममा केही अलमल भए पनि अधिकांश योजनामा काम सुरु भइसक्यो ।’

वडासचिव नहुँदा नगरपालिकाका प्रशासकीय अधिकृत नै दैनिक रूपले गाउँबाट आउने नागरिकका सिफारिस, नाता प्रमाणित, जन्म९मृत्यु दर्ता, बसाइँसराइ लगायतमा संलग्न हुनुपर्ने बाध्यता छ । नगरपालिकाका ११ वटै कार्यालयका बोर्ड र जनप्रतिनिधि छन् तर अधिकांशमा वडासचिव नभएकाले सेवाग्राही मर्कामा परेको उपप्रमुख विजया विष्ट बताउँछिन् । ‘वडामै सचिव छैनन्,’ नगरको न्यायिक समिति संयोजकसमेत रहेकी विष्टले भनिन्, ‘काम गर्न निकै कठिन भयो ।’

दसैं अघिसम्म भएका साबिकको मान्म, दाहा र पाखाका सचिव पनि वडामा झर्नुपरेपछि सरुवा मिलाएर सुर्खेत र दैलेख गएपछि पूरै नगरपालिका वडा सचिवविहीन भए । ‘सिंहदरबार गाउँ आयो भनेर प्रचार मात्र भयो,’ वडा ७ का वडाध्यक्ष रजबहादुर मल्लले गुनासो पोखे, ‘बरु गाविस हुने बेला सदरमुकाममै भए पनि सचिव त हुन्थे ।’ उनले कर्मचारी नहुँदा जनताले सास्ती पाउने गरेको बताउँदै सानातिना कामका लागि पनि गाउँबाट नगरप्रमुख खोज्दै सदरमुकाम धाउनुपर्नेबाध्यता रहेको बताए । उनले गाउँमा सचिव नभएपछि सिफारिस लेख्न नगरपालिका पुग्नुपरेको बताए ।

यहाँको जिल्ला शिक्षा कार्यालयले खाँडाचक्र, रास्कोट, तिलागुफा नगरपालिका, कालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता, महाबै र नरहरिनाथ गाउँपालिकामा ४ जनाका दरले ९ अधिकृतसहित ३६ कर्मचारी पठाउनुपर्ने भए पनि जिल्लामा स्वीकृत दरबन्दी १९ जना मात्र छ । दरबन्दीका कर्मचारी त झन् ७ जना मात्र भएको निमित्त जिशिअ जसीप्रसाद चौलागाईंले बताए । उनका अनुसार ७ विद्यालय निरीक्षकको दरबन्दी रहेको कालिकोटमा हाल उनी मात्र छन् ।

९ पालिकाका २ सय ९४ विद्यालय हेर्ने गरी ५ स्रोतव्यक्ति मात्र फिल्डमा खटाइएका छन् । कालिकोटमा खटाइएका अधिकांश कर्मचारी जिल्लामा नआएकाले समस्या भएको निमित्त प्रजिअ राजकुमार दुलालले बताए । उनले कर्मचारी समायोजनको अन्योलले काम गर्न कठिनाइ भएको सुनाए । उनी सरकार बनिसकेकाले अब अन्योल धेरै दिन नहुनेमा आशावादी छन् ।

यहाँका केही कार्यालयले कर्मचारी पालिकामा खटाइएको दाबी गरे पनि आफ्नै कार्यालयमा बसेर हाजिर गरिरहेका छन् । कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकार बने पनि स्पष्ट खाका आउन बाँकी रहेकाले कर्मचारी समस्या देखिएको निमित्त प्रजिअ दुलालको भनाइ छ । ‘जिल्लामै कर्मचारीछैनन्,’ उनले भने, ‘नगर र गाउँपालिकामा कसलाई पठाउनु ?

कालिकोटका ८२ मध्ये ३ वटामा मात्र वडा सचिव भएको जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही बताउँछन् । उनका अनुसार गत भदौयता स्थानीय विकास अधिकारी पनि छैनन् । जिल्ला प्राविधिक कार्यालयका प्रमुख निमित्त जिल्ला समन्वय अधिकारीका रूपमा छन् । उनले जिल्ला समन्वय समितिमा कार्यरत ६ कर्मचारीको म्याद सकिएकाले नथपिएको जानकारी पनि दिए । कर्मचारीले भने राजनीतिक पूर्वाग्रहका आधारमा लामो समयदेखिको आफ्नो रोजीरोटी खोसिन लागेको गुनासो गरेका छन् ।

सदरमुकाम मान्मस्थित एक दर्जन सरकारी कार्यालय पनि प्रमुखविहीन छन् । यहाँको जिल्ला स्वास्थ्य, प्रशासन, समन्वय समिति, पशु, कृषि विकास, मालपोत, कोष तथा लेखा नियन्त्रण, टेलिकमलगायतका कार्यालय प्रमुख पनि जिल्लामा छैनन् । कोही सरुवा भएर गएपछि नयाँ आएका छैनन् भने कोही कार्यालयका कामले जिल्लाबाहिर रहेको निमित्त प्रजिअ दुलालले बताए ।

स्राेत ः कान्तिपुर ।