सुर्खेत । फुर्सदमा अरुका कुरा काटेर समृद्ध प्रदेशको परिकल्पना गर्न नसकिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन । शनिबार सडक सुरक्षा कार्यक्रमको उद्घाटन गर्न वीरेन्द्रनगरको सीटी बसपार्क पुगेका शाहीले यस्तो बताएका हुन । ‘फुर्सदमा अरुको अर्कोले के गर्दैछ भनि कुरा काटेर घण्टौं समयको बर्बाद नगर्नहोस ।’
उनले भने, ‘फुर्सदमा काम गर्नुहोस ।’ काम गरेपछि मात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने उनको भनाई छ । ठालु प्रविधिले प्रदेशको सम्बृद्धि हासिल गर्न नसकिने उनको दावी छ । ‘जो जुन ठाँउमा जे काम गर्दैछ त्यहि कामलाई राम्रोसँग गर्न सके समृद्धि टाढा छैन ।’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेशका हरेक व्यक्तिले आफूले गर्न लागेको कामलाई सभ्य रुपमा सम्पन्न गरौं ।
यसैगरी अबको युग परिवर्तनको विकासको भएको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘पुरानो सोच, पुरानो कार्यशैली, पुरानो काम गर्ने तौरतरिका र चिन्तनहरु बदल्न जरुरी छ ।’ उनले भ्रष्टाचारले देशलाई बर्बाद गर्ने भएको बताउँदै भ्रष्टाचार अपराध हो भन्ने बुझ्न कर्मचारीहरुलाई निर्देशन दिए ।
भ्रष्टाचार विरुद्ध आफुले शुन्य सहनशीलता कायम गर्ने बताए । मुख्यमन्त्री शाहीले सडक सुरक्षा कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग गर्ने अपेक्षा राखे । यसकासाथै प्रदेशको समग्र शान्ति सुरक्षामा समेत यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
अर्को विषयमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण बनाईने बताए । ‘कर्णली प्रदेशमा धेरै क्षेत्रमा लगानी गर्ने आधारहरु छन् ।’ उनले भने, ‘प्रदेश सरकार ती आधारहरु केलाउँदै नीजि क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न तयार छ ।’ उनले लगानी गरिएका ठाँउमा बम पडकाउने कार्य भइरहेको बताउँदै यसलाई गसिम्भर रुपमा आफूले लिएको बताए । यस्ता अवाञ्छित गतिविधी रोक्न आवश्यक कदम चाल्न उनले सुरक्षा निकायलाई निर्देशन समेत दिए ।
सडक सुरक्षा कार्यक्रम लागु
कर्णाली प्रदेशमा ‘सडक सुरक्षा कार्यक्रम’ शुरु भएको छ । कर्णाली प्रदेशको मान्तरिक मामिला तथा कानून मन्त्रालयले अघि सारेको ‘समृद्धिका लागि सुरक्षा अभियान’अन्तर्गत प्रदेशका दशवटै जिल्लाहरुमा शनिबारदेखि सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
कर्णाली प्रदेशमा अधिकांस मानिसहरुको मृत्यु सवारी दुर्घटनाका कारण हुने भएकाले यसको न्यूनिकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणबहादुर चन्दले जानकारी दिएका छन् ।
यस कार्यक्रमअन्तर्गत कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडक खण्ड, कपुरकोट–रुकुम सडक खण्डलगायतमा हाई–वे प्रहरी गस्ती गरिने उनले बताए । यस्तै चालक, नागरिक तथा सडक प्रयोगकर्ताहरुका लागि सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिने जनाइएको छ ।