सुर्खेत । सुर्खेत उपत्यकामा खानेपानी आपूर्ती गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा नयाँ धारा जडानका लागि आवेदन दिनेहरुको भीड लागेको छ । संस्थाले बुधबारदेखी नयाँ धारा जडानका लागि आवेदन खुला गरेपछि कार्यालयमा आवदेन दिनेहरुको भीड लागेको हो ।
उपत्यका भित्र १५ हजार ३७६ उपभोक्ताको घरमा खानेपानी आपूर्ति गर्दै आएको संस्थाले नयाँ आवेदन खुला गर्नु अघि २ हजार ११५ घरमा धारा जडानका कार्य अन्तिम चरणमा पु¥याएको छ । तर संस्थाले दोस्रो आयोजना खरी–बोरी खोलाबाट ३० लिटर प्रति सेकेण्ड पानी थप गरेपछि नयाँ आवेदन खुला गरेको हो । बुधबार मात्रै एक हजार बढी आवेदन परेको संस्थाले जनायो ।
फागुन २७ सम्म नयाँ धाराका लागि आवेदन लिने र त्यसपछि धारा जडानको प्रक्रिया शुरु गर्ने संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । उनका अनुसार उपत्यकाको खानेपानी संकट टार्न भेरी नदीको पानी लिफ्टीङ्ग गर्ने योजना अघि बढाएको बताए ।
‘संस्थाको डिजाईन अवधिभन्दा अनुमान गरिएको जनसंख्या सन् २०१५ मै ह्वात्तै बढ्यो’ अध्यक्ष देवकोटाले भने,–‘यसले साविककै आयोजनाबाट आपूर्ती भइरहेको खानेपानी संकट टार्न हामीलाई हम्मे भयो ।’
संस्थाको प्रारम्भिक सर्वेमा सन् २००२ मा ५२ हजार ६२७ जना र सन् २०२० सम्म १ लाख ४ हजार २३९ जना हुने अनुमान गरिएको थियो । तर सन् २०१५ मै संस्थाले उपत्यकाका १ लाख ५० हजार जनसंख्यालाई सेवा प्रदान गर्दै आएको छ ।
विकल्प
संस्थाले भेरी नदी र झुप्रा खोलाको दोभानस्थललाई स्रोतको रुपमा प्रयोग गरेर पानी पम्पीङ्ग गर्न सकिने सुझाव दिइएको थियो । समन्वय बैठकले पनि सोही स्थानमा ईन्फिल्ट्रेशन ग्याली, पम्पीङ्ग स्टेशन र ओभरहेड ट्याङ्क लगायतका संरचनाहरु निर्माण गर्न उपयुक्त हुने सुझाव आएकाले सोही अनुसार प्रक्रिया अघि बढाएको अध्यक्ष देवकोटाले जानकारी दिए ।
उनले प्रदेश सरकार निर्माण भइसकेकाले दिर्घकालिन रुपमा उपत्यकाको खानेपानी संकट टार्न आफूहरु तल्लिन रहेको बताए । भेरी नदीको पानी पम्पीङ्ग गरे एकसय वर्षसम्म खानेपानीको समस्या टर्ने अपेक्षा संस्थाको छ । भेरी नदीको पानी पम्पीङ्ग गरेर करिव ७ सय प्रतिलिटर सेकेण्ड पानी थप्न सकिनेछ ।