धनगढी । जेलभित्रै आनरण अनसनमा बसेका टीकापुर घटनाका अभियुक्त रेमश चौधरीले उपचार गर्न नमानेपछि काठमाडौंस्थित सेन्ट्रल जेल पठाएको छ ।
सात दिनदेखि अनसनरत चौधरीको स्वास्थ्यमा गम्भिर समस्या देखिएको सेती अञ्चल अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। सजन केसीले उपचारका लागि काठमाडौं रिफर गरिएको बताएका छन् ।
कारागार प्रशासनले चौधरीलाई शुक्रबार दिउँसो सेती अञ्चल अस्पताल पुर्याएको थियो तर, उपचार गर्न मानेनन् । शनिबार बिहान अनसन टुटाउने प्रयास भएको थियो । तर, राष्ट्रिय जनता पार्टीको निर्णय नआउँदा अनशन टुटाउन सम्भव भएन ।
शनिबार दिउम्सो ३ बजेतिर चौधरीलाई फेरि सेती अञ्चल अस्पताल पुर्याइएको थियो । उनको रक्तचाप निकै घटेको पाइएपछि चिकित्सकले उनलाई रिफर गरेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले चौधरीलाई हवाइजहाजमा काठमाण्डौ पठाउने तयारी भएको बताए । उनले भने ‘हामीले केन्द्रीय कारागारमा पठाउने हो, कहाँ उपचार गरिन्छ उतैबाट होला ।’
कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी सपथ गराउनु पर्ने लगायतका माग राख्दै आमरण अनसनमा बसेका हुन् । चौधरीसंगै पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका टीकापुर घटनाका अन्य २४ अभियुक्त पनि अनसनमा छन् ।
निर्वाचित सांसद चौधरीलाई शपथ ग्रहण गर्न दिनुपर्ने, आफूहरुलाई रिहा गरिनु पर्ने र थरुहट प्रदेश बनाइनु पर्ने तीनबुँदे माग राख्दै उनीहरु आमरण अनसनमा बसेका हुन् ।