☰ open Loading... 3 May 2024|  

डोटीका दुई विद्यालय गाभ्ने तयारी
  | २६ फाल्गुन २०७४, शनिबार १७:०८

डोटी । डोटी शिखर नगरपालिका(३ मा सञ्चालित दुई सामुदायिक बिद्यालयहरु गाभ्ने प्रक्रिया अगाडि बढेको छ । अमरज्योति अधारभुत बिद्यालय आली र डाँडावाग आधारभुत बिद्यालय खुनखुडालाई गाभेर एक गर्ने तयार गएकिो हो ।

कात्तिक महिनादेखि छलफल सुरु हुँदै विद्यालय गाभ्ने बिषय अव सहमति नजिक पुगेको डाँडाबाग आधारभूत विद्यालयका प्रधानाध्यापक अमरराज जोशीले जानकारी दिए । ‘दुवै विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्ने भनी संयुक्त रुपमा निर्णय गर्ने र पछि संयुक्त भेलाले बिद्यालय गाभेको निर्णय गर्दै शिखर नगरपालिकामा फायल पेश गर्ने सहमति भएको छ’ प्रधानाध्यापक जोशीले भने ‘जनप्रतिनिधि, जिल्ला शिक्षा अधिकारी र स्रोतव्यक्ति समेतको उपस्थितिमा प्रारम्भिक चरणको भेला समेत भएको छ ।’

वडा कार्यालयबाट दुई विद्यालय गाभ्नका लागि प्रस्ताव आएपछि छलफल अगाडि बढाइएको बताउँछन् अमरज्योति आधारभूत विद्यालय आलीका प्रधानाध्यापक ध्रुवराज फुलारा । ‘विद्यालय गाभ्ने विषयमा दुवै विद्यालयका व्यवस्थापन समिति सहमत छन’ प्रअ फुलाराले भने ‘दुवै बिद्यालयले आधिकारिक निर्णय गर्न मात्रै बाँकी छ ।’

२०५४ सालमा स्थापना भएको डाँडाबाग आधारभूत विद्यालय हाल ३१ जना बिद्यार्थी रहेका छन् । कक्षा ५ सम्म पढाई हुने उक्त बिद्यालयमा राहात कोटाका दुई शिक्षक कार्यरत छन ।

यस्तै कक्षा तीनसम्मको पढाई भइरहेको अमरज्योति आधारभूत विद्यालयमा ३३ जना बिद्यार्थी रहेका छन् ।

उक्त बिद्यालयमा सरकारी अनुदानबाट सेवा सुबिधा पाउने बाल बिकास सहायक कार्यकर्ता छन भने दुई शिक्षकहरु स्थानीय श्रोतबाट सेवा सुबिधा लिँदै आएका छन । अमरज्योति आधारभुत बिद्यालय २०६५ सालमा स्थापना भएको हो ।

दुवै बिद्यालय गाभिएमा हाल अमरज्योति आधारभुत विद्यालय सञ्चालन भएको स्थानमा बिद्यालय कायम हुने प्रारम्भिक सहमति भएको प्रअ फुलाराले वताए ।

दुई विद्यालय गाभ्ने प्रक्रिया अगाडी बढेको जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले जानकारी दिएका छन् ।

डोटीमा केही विद्यालयहरुलाई गाभ्नु पर्ने देखिएको बताउँदै उनले विद्यालय गाभ्ने प्रक्रिया शिखर नगरपालिकाबाटै सुरु भएको समेत बताए ।