☰ open Loading... 2 May 2024|  

मङ्गलसेन–ठाँटीखाद सडकको निर्माण तीव्र
  | २९ फाल्गुन २०७४, मंगलवार १०:३९

अछाम । मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको मङ्गलसेन–ठाँटीखाद सडकखण्ड निर्माणको कामले गति लिएको छ । २०७५ असार मसान्तभित्र सडकखण्ड कालोपत्र गरिसक्ने गरी काम भइरहेको हो ।

आगामी ३ वर्षभित्र मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्न चार खण्डमा वर्गीकरण गरी काम अघि बढाइएको छ ।

जसमा कैलाश खोला सडकखण्डको काम लामा पीएस जेभी, मङ्गलसेन–ठाँटीखाद सडकखण्डको काम शर्मा चन्द्रा एण्ड बसन्त दिवा जेभी, ठाँटीखाद–विनायक सडकखण्ड लुम्बिनी अनक राजेन्द्र जेभी र विनायक बेलखेत सडकखण्डको काम गङ्गोत्री ओसिस इञ्जिनीयर्स एण्ड बिल्डर्सले गरिरहेका छन् ।

मङ्गलसेन–ठाँटीखाद सडकखण्ड सम्पन्न गर्न ३२ करोड ८७ लाख ५८ हजार ७ सय रुपैयाँमा ठेक्का दिइएको छ ।

सो खण्डको काम निर्धारित समयभन्दा १ वर्षअघि नै सक्ने निर्माण कम्पनीले दाबी छ । अहिले नालीको काम सकेर बेस बिछ्याउने काम भइरहेको कम्पनीका ल्याब टेक्निसियन मनोज महराले बताए ।

विगतका ठेकेदारले काममा लापरबाही गरेकाले सो सडकखण्डको काम चन्द्रा एण्ड बसन्त कन्ष्ट्रक्शनले पाएको हो । आगामी ३ वर्षभित्र मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्न जिम्मा लिएको कन्ष्ट्रक्शनले आगामी २ वर्षभत्रै काम सम्पन्न गर्ने कम्पनीका साइड इञ्चार्ज देवहरि सिटौलाले बताए ।