☰ open Loading... 18 April 2024|  

यस्तो छ कर्णाली प्रदेशका उत्तरी नाका सञ्चालनको तयारी
  | ३० फाल्गुन २०७४, बुधबार १२:४५

सुर्खेत । कर्णाली प्रदेशका चीनसँग जोडिएका हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला नाका सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।  भारतसँग नजोडिएको यो प्रदेशले उत्तरी नाका सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ । ‘तीन नाका नहोला, एउटा नाका वर्ष दिनभित्र सञ्चालनमा ल्याउन तयारी गरेका छौँ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने ।

कर्णाली प्रदेशको काठमाडाैँ सँग सीधै हवाई सम्पर्क छैन । देशको व्यापारिक सम्बन्ध भारतसँग भए पनि यो प्रदेश त्यसबाट पनि वञ्चित छ । जसले कर्णालीलाई अरू प्रदेशमा निर्भर बनाएको छ । प्रदेशको आर्थिक समृद्धिका लागि कम्तीमा एउटा उत्तरी नाका एक वर्षभित्रै सञ्चालनमा ल्याउनुपर्ने बाध्यता रहेको भनाइ छ ।

सामाजिक विकासमन्त्री दलबहादुर रावलले पनि हुम्लालाई सडक सञ्जालसँग जोडेर हिल्सा नाकालाई नियमित सञ्चालन अनिवार्य भएको बताए । कैलाश मानसरोवर जाने भारतीय पर्यटकको संख्या १२ लाखसम्म पु¥याउन सकिने उनको भनाइ छ । ‘अहिले नेपालगन्जबाट सीधै हिल्सा जान्छन्, प्रदेशले आम्दानी गर्न सकेको छैन,’ उनले भने । हुम्लाका प्रदेश सभा सदस्य रावलले कैलाश मानसरोवर जाने भारतीय पर्यटकलाई मुगुको रारा, डोल्पाको से–फोक्सुन्डो घुमाउन सकिने बताए ।

एक वर्षमा नाका खोल्छौ 

कर्णाली प्रदेशका उत्तरी नाका सञ्चालनका लागि सडक सञ्जाल जोडिनुपर्छ । सडक नभएकाले हुम्ला, मुगु र डोल्पाका उत्तरी नाका सञ्चालनमा ल्याउन समस्या छ । एक वर्षभित्र हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हिल्साबाट आयातनिर्यात गर्न अन्य जिल्लाका लागि सिमिकोट विमानस्थल प्रयोग गरिनेछ । हुम्लाका नाकाका लागि पनि प्रदेश सरकारको साधनस्रोत प्रयोग गरी सडक सञ्जालसँग जोड्छौँ ।

हिल्साको लामो पखाई 

हुम्लाबाट तिब्बत जोड्ने हिल्सा नाका मौसमी रूपमा सञ्चालनमा छ । व्यापारिकभन्दा पनि पर्यटकीय नाकाका रूपमा परिचित यो नाका माथिल्लो हुम्लाका बासिन्दाको पारिवारिक सम्बन्धले पनि ओहोरदोहोर भइरहन्छ । ०७२ मा हुम्ला र तिब्बत जोड्ने नाका हिल्सामा पुल निर्माण गर्ने नेपाल र चीनबीच सम्झौता भएको थियो । दुवै सरकार सहमत देखिए पनि हुम्लालाई सडकले नजोडेका कारण व्यापारिक नाकाका रूपमा सञ्चालन हुन नसकेको हुम्लाका प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले बताए ।

‘नेपालगन्ज–सिमिकोट मोटर बाटो बने हिल्सा कर्णाली प्रदेशको व्यापारिक नाका बन्नेछ,’ उनले भने ।  डोल्पाबाट तिब्बत जोड्ने मोरिम्ला नाका औपचारिक रूपले सञ्चालनमा छैन । यो नाका सञ्चालनका लागि नेपालले चीनसँग प्रस्ताव गरेको थियो । वाणिज्य नाकाका रूपमा सञ्चालन गर्न चीनले सहमति जनाएको थियो ।

वर्षैभरि व्यापारिक प्रयोजनका लागि सञ्चालन हुन नसकेको डोल्पाकी सांसद सत्या पहाडीको भनाइ छ । वर्षमा एकपटक मात्रै खुल्ने यो नाकाबाट यार्सागुम्बालगायतका जडीबुटी र होजियारीका सामान निर्यात हुने गरेको उनले बताइन् । त्यस्तै, चीनबाट खाद्यान्न र लुगाकपडा आयात हुन्छन् ।

नाक्चेलाग्ना अलमलमै 

कर्णाली प्रदेशको तेस्रो नाका हो, मुगुको नाक्चेलाग्ना । मुगुको गमगढीदेखि नाक्चेलाग्नासम्म ९१ किलोमिटरमध्ये १६ किमि सडक मात्रै बनेको छ । ०६७ देखि निर्माण सुरु भएको यो सडकमा १० करोड रुपैयाँ खर्च भइसको छ । सर्खुेत बाट नाग्मा, गमगढी हुदैँ तिब्बत सीमासम्म तीन सय ९० किलो मिटर लामो यो सडकको निर्माणको गति भने सुस्त छ ।

पाँच दिनमा तिब्बत 

मुगुको गमगढीदेखि तिब्बत सीमा क्षेत्र पुग्न पाँच दिन हिँड्नुपर्छ । अहिले स्थानीय बासिन्दा हिँडेरै तब्बत पुग्ने गरेका छन् । सडक निर्माण भयो भने दुईदेखि तीन घन्टामा सीमा क्षेत्र पुग्न सकिनेछ ।

८० करोड बजेट माग 

गमगढी–नाक्चेलाग्ना ९१ किमिमध्ये ७५ किलोमिटर बा“की छ । ५ वर्षभित्र नाक्चेलाग्ना पु¥याउने लक्ष्य रहेको आयोजना प्रमुख अंगलाल रोकायाले बताए । ८० करोड रुपैयाँ लाग्ने बताउँदै उनले भने, ‘अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौँ । तर, बजेट आउने गरेको छैन ।’ सडक निर्माण परियोजना स्वीकृत भई कार्यालय स्थापना भए पनि बजेटले कर्मचारीसमेत राख्न नसकिएको उनले बताए । ‘बजेट अभावले कर्मचारी छैनन्, कार्यालय व्यवस्थापन हुनसकेको छैन,’ उनले भने ।

स्राेत ः नयाँ पत्रिका