☰ open Loading... 3 May 2024|  

‘उपभोक्ताका लागि राज्य प्रतिबद्ध हुनुपर्छ’
  | १ चैत्र २०७४, बिहीबार १७:०९

सुर्खेत । उपभोक्ता हक, हित र अधिकारको संरक्षणका लागि राज्य पूर्णरुपमा प्रतिबद्ध हुनुपर्ने सुर्खेतका सरोकारवालाले बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा विहीबार सुर्खेतको वीरेन्द्नगरमा आयोजित विश्व उपभोक्ता अधिकार दिवसको अवसर आयोजित अन्तक्रिया कार्यक्रमका वक्ताहरुले उद्यमी र व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले राज्यका नियमनकारी निकायले अनुगमन तथा कारवाहीमा लापरवाही गरेकै कारण उपभोक्ताले तोकिएको मूल्य चुकाउँदा पनि ठगिनु परेको गुनासो गरे ।

नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समूह संस्था शाखा कार्यालय सुर्खेतका अध्यक्ष चन्द्रा विकले सरोकार पक्षले बजार अनुगमन तथा नियमन कार्यमा संवेदनशील नहुँदा दण्डहीनता मौलाएको र आम उपभोक्ता ठगिरहेकोमा चिन्ता व्यक्त गरे ।

जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले उपभोक्ता पनि आफ्नो हक अधिकारप्रति सजक भई कानूनले प्रत्याभूत गरेका अधिकारको प्राप्ति, उपभोग र पालनामा थप जागरुक हुनु जरुरी रहेको बताए ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय, यस क्षेत्रमा क्रियाशील संघसंस्था र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका अपेक्षित रहेको बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका सचिव विद्यानन्द झाले उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय नियामक निकायले आफ्ना कार्य क्षमताका विकास र विस्तार गरी उपभोक्ता अधिकार संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो औंल्याए ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दिलबहादुर खड्काले सरकार नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताए ।

यसअघि विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा स्थानीय मंगलगढी चोकदेखि प्रभातफेरी निकालेर जिल्ला समन्वय समितिको सभाहल पुगेर अन्तरक्रियामा टुङ्गिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोलाईएका सुर्खेत उद्योग वाणिज्य संघ तथा व्यापारीहरुको सहभागिता देखिएको थिएन् । कार्यक्रममा सरकारी निकायका कर्मचारी, उपभोक्ताकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।