☰ open Loading... 19 November 2024|  

वीरेन्द्रनगरद्वारा पाँच विधेयक प्रस्ताव
  | ७ चैत्र २०७४, बुधबार १८:३१

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको दोस्रो नगरसभा शुरु भएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दै अधिकार सम्पन्न मानिएको स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने कानून तयार गर्न वीरेन्द्रनगर नगरपालिकाको दोस्रो नगर सभा शुरु भएको हो ।

१० महिनादेखी कानून अभावले चाहे अनुरुपको काम गर्न नसकिएको बताउँदै आएका स्थानीय निकायहरुले कानून निर्माण गरेर कार्य सञ्चालन र अवरुद्ध विकासको गतिलाई अघि बढाउन कानुन निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

विद्येयक माथि व्यापक छलफल गरी पारित गरिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।

कर्णाली प्रदेश राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाले झण्डै डेढ महिना लगाएर विभिन्न विधेयकहरु प्रस्ताव गरिएको थियो । बैठकमा शैक्षिक विद्येयक, सहकारी विद्येयक, कृषि व्यवसायी प्रवद्र्धन विद्येयक, न्यायीक समिति (कार्यविधि सम्बन्धी) र प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धी विद्येयक २०७४ प्रस्ताव पेस गरिएकाे छ ।

वीरेन्द्रनगर नगरपालिकालाई शैक्षिक, कृषिलाई व्यवसायिकता बनाई जनताको जीवनस्तरलाई माथि उठाउनका लागि कानून बनाउन लागि उप प्रमुख मोहनमाया ढकाले बताईन ।

बैंठकमा नगरसभा सदस्य टोपबहादुर रास्कोटीले निर्वाचनमा जनताका सामु गरिएका बाचहरुलाई पुरा गर्नका कानून बनेपछि सजिलो हुने बताए । यही विद्येयकहरु पास भएपछि काम गर्न सजिलो हुने उनको धारण थियो ।

बैठकमा नगरसभा सदस्य रामकुमारी थापाले महिला, बालबालिका, दलित, आदीवासी जन–जातीहरुको हकहितलाई समेटिने गरी विद्येयक पारित गर्न सुझाव दिईन ।
बुधबार नगरपालिकाको दोस्रो नगरसभामा विधेयक पेश गरेसंगै एक दिनका लागि बैठक स्थगन भएको छ । प्रस्तुत कानून र कार्यविधि सम्वन्धी वडा अध्यक्ष लगायत विधायकहरुलाई अध्ययनका लागि एक दिन समय दिएको हो । प्रस्ताव गरिएको विधेयक आवश्यक संशोधन र छलफलपछि शुक्रबार बस्ने बैठकले दुई तिहाई बहूमतबाट पारित गर्नेछ । नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यसहित ८२ जना निर्वाचित जनप्रतिनिधी छन् ।