☰ open Loading... 24 December 2024|  

मुख्यमन्त्री शाहीले गरे प्रदेशकै नमूना कभर्ड हलकाे शिलान्यास
  | ११ चैत्र २०७४, आईतवार १७:५८

सुर्खेत । कर्णाली प्रदेशकै नमुना बहुउद्देश्यीय कर्भड हल सुर्खेतमा निर्माण हुने भएको छ । जिल्ला व्याडमिण्टन संघ सुर्खेतले कर्भडहल निर्माणको प्रक्रिया अघि बढाएको हो । कर्भडहलको शिलन्यास मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आईतबार गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सेमिकर्भड हलको हाताभित्र निर्माण हुन लागेको कर्भडहलको लागत चार करोड छ । संघले कर्भड हल निर्माणका लागि गत वर्ष धार्मिक महोत्सव लगाएको थियो ।

महोत्सवबाट नगद र बागदान गरी १ करोड २७ लाख रकम संकलन गरेको छ । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकास लागि संघले थालेको प्रयासप्रति कृतज्ञता व्यक्त गरे । उनले प्रदेशको खेल क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने वचन दिए ।

‘ढुंगालाई ढोगेर होइन कर्मलाई विश्वास गरेर विकास निर्माणलाई तिब्रता दिनुपर्छ’ शाहीले भने,–‘कभर्डहलको नाम अनुसार नै विभिन्न उद्देश्यहरुलाई पूरा हुनेमा आफू आशावादी छु ।’ अरुलाई दोष दिएरै कर्णाली प्रदेश हेपाहमा रहेको बताएका शाहीले आफ्नै आत्मबल बलियो बनाएर कर्णाली प्रदेशको विकासमा एक हुन आग्रह गरे ।

बहुउद्देश्यीय कवर्ड हलको निमार्णले यो प्रदेशमा प्रदेशस्तरीय, राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरका खेलकुदको आयोजना गर्न सकिने सुर्खेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी बताए ।

सबैको भावना र विचारको सहयोगले कवर्डहलको निमार्ण हुन लागेको गाउँपालिका महासंघका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । सकारात्मक कार्यमा सबैको हातेमालोको जरुरी भएको भन्दै केसीले भावनाको हिसावले अघि बढे चाहेको जस्तो बनाउन सकिने उल्लेख गरे ।

खेलकुद क्षेत्र राजनितिक रुपमा प्रयोग भएको र सही ठाउँमा काम नभएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दुःख व्यक्त गरे । अहिलेको अवस्थामा खेलकुद क्षेत्र मानवीय जीवन संघ जोडेर लैजानु पर्ने जोड उनको छ । उपत्यका नगर विकास समिति सुर्खेतले उपलब्ध गराएको करिव ५ कट्टा जग्गामा कर्भड हल निर्माण गर्न लागिएको छ ।

कर्भडहलका लागि डिपिआर अनुसार ६ वटा कोडको भए पनि समितिले रकम अभाव देखाउँदै ४ वटा कोड निर्माण गर्न लागेको संघका अध्यक्ष छविलाल शाहीले जानकारी दिए । निर्माण गर्न लागिएकोे कर्भडहल यसै आर्थिक वर्षबाट सुरुगरी २ वर्षभित्र सक्ने निर्माण संघका सचिव खिमलाल देवकोटाले जानकारी दिए ।