☰ open Loading... 20 April 2024|  

गोरीकला हत्या काण्ड : प्रदेश संसदमा उठान, दाेषीलार्इ कडा कारवाही गर्न माग
  | १६ चैत्र २०७४, शुक्रबार १६:५२

जनताको सेवकले यस्तो कार्य गर्नु गलत

सुर्खेत । गत मंगलबार हत्या गरिएका गोरीकला रोकायको विषय संसदमा उठान भएको छ । कर्णाली प्रदेश सभाको शुक्रबार बसेको बैठकको विषेश समय बोल्दै सांसद विन्दमान विष्टले जनताको सेवक नै हत्यामा संलग्न भएको घटनाले नागरिक त्रसित रहेको भन्दै प्रदेश सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराएका छन् ।

याे पनि पढ्नुहाेस् ः परीक्षा दिन डेरामा बसेकी युवतीको हत्या

जनताको सेवक नै एसइई परीक्षा दिन भाडामा बसेकी छात्राको हत्यामा संलग्न हुनु यो गम्भीर अपराध हो’ सांसद विष्टले भने,–‘प्रदेशको शान्ति सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नै यस्तो क्रुर घटनामा संलग्न हुनुले सिंगो नागरिक त्रसित भएकाले प्रदेश सरकार गम्भीर हुनुपर्छ ।’

याे पनि पढ्नुहाेस् ः गोरीकला हत्या काण्ड : हत्यामा ट्राफिक प्रहरीकै संलग्नता

समृद्ध र शिक्षित प्रदेशको परिकल्पना हामी गरिरहने अर्कातर्फ सुरक्षाकर्मी नै अपराधिक घटनामा संलग्न हुनु राम्रो पक्ष नभएको भन्दै विष्टले जनताको जिउधनको प्रभावकारी व्यवस्था मिलाउन सरकारसंग माग गरे ।

एसइई परीक्षा दिन भाडामा बसेकै चेली हत्या भएकाले निष्पक्ष छानविनको माग सांसद पद्मा खड्काको छ । उनले गोरीकलाको हत्या भएको चार दिनसम्म पनि सत्यतथ्य रिपोर्ट बाहिर नल्याउन सक्नु घटनालाई गुपचुप राउन खोजिएको भन्दै संसदको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको बताईन् ।

तर, सांसद मिनासिंह रखालले संस्कार, संस्कृती, कुरितीले महिलाहरु शिर ठाडो पारेर हिड्न सक्ने अवस्था नरहेको बताईन । उनले चैत्र १० गते दैलेख चामुण्डाविन्द्रासैनीमा आफ्नै श्रीमतीबाट पीडित बन्नु परेको घटनालाई स्मरण गराईन् । दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने भन्दै उनले महिलालाई सुरक्षित रुपमा हिडडुल गर्न सक्ने कानुन निर्माण गर्न आग्रह गरिन् ।

शुक्रबारको बैठकमा बोल्ने सांसदले ०७१ सालमा आएको बाढीपहिरोबाट विस्थापित भएका पीडितहरुलाई वर्षात अगावै उचित व्यवस्थापन गर्न सरकारलाई विशेष योजना ल्याउन माग गरे ।

यस्तै, अल्पकालिन र दीर्घकालिन योजनाहरुको पहिचान गरेर प्रदेश भित्रका सडकहरुलाई प्रभावकारी बनाउन सांसदहरुले आग्रह गरेका छन् । तर बैशाख १ गते उद्घाटन हुन लागेको रारा–कर्णाली पर्यटन वर्ष–२०७४ बारे सांसदहरुलाई प्रदेश सरकारले जानकारी नदिनुको कारण समेत सरकारसंग माग गरिएको छ ।

सांसद गुलावजंग शाहले वागचौर सल्यानमा आगलागी भएका पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । उनले राष्ट्रिय महत्वका योजनालाई प्राथमिकतामा राखेर तत्काल अघि बढाउने सरकारको ध्यानकर्षण गराए ।

उनले अन्तर प्रदेश जोड्ने कोहोलपुर–सुर्खेत–हिल्सा सडक, तल्सीपुर–मालारानी सडकहरुको तत्काल स्तरोन्नती गर्नु पर्ने बताए । हालसम्म प्रदेश सरकारले गरेको काम कारवाही र संसदको विशेष समयमा उठान भएका विषयहरुको जवाफ दिन प्रदेश सरकारका मन्त्रीहरुलाई अर्को बैठकमा उपस्थित गर्न सभामुख राजबहादुर शाहीले निर्देशन दिएका छन् ।

प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ दफा १५ (१) को अनुसार सवै दलका सांसदहरुको प्रतिनीधित्व हुनेगरी कार्य व्यवस्था परामर्श समिति गठन गरिएको छ ।

समितिको अध्यक्षमा सभामुख राजबहादुर शाही, सदस्यहरुमा आर्थिक मन्त्री, उप–सभामुख, सांसदहरुमा करविर शाही, गुलावजंग शाह, दिनबन्दु श्रेष्ठ, धर्मराज रेग्मी, सीता नेपाली, सोशीला शाही, हिमबहादुर शाही र मिनासिंह रखाल छन् । परामर्श समिति सांसद बैठकले अनुमोदन समेत गरेको छ ।

शुक्रबारको बैठकमा आर्थिक ममिला तथा योजना मन्त्रालयले दर्ता गरेको आर्थिक कार्य विधि विधेयक मन्त्री प्रकाश ज्वाल र प्रदेश सभा नियमावली मस्यौदा–२०७४ समितिका संयोजक सीता नेपालीले पेश गरेका छन् । संसदको अर्को बैठक चैत्र २० गतेसम्मका लागि स्थगन भएको छ ।