सुर्खेत । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश भित्रको जलविद्युत र औद्योगिक क्षेत्रमा ढुक्कसंग लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गरेका छन् । प्रदेश सरकारले प्रदेशको विकास लागि बाह्य लगानी भित्राउन वातावरण निर्माण गर्न तयार रहेकाले ढुक्कले लागनी गर्न आग्रह गरेका हुन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले लगानीको वातावरण सरकारले निर्माण गर्ने स्पष्ट पारे ।
मुख्यमन्त्री शाहीले लगानीकर्तालाई निश्चित अवधिसम्म कर नलगाउने पनि बताए । ‘लगानीकर्ताको लगानी नउठुन्जेलसम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउँछौं’ मुख्यमन्त्री शाहीले भने,–‘लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी प्रदेश सरकारले गर्ने भएकाले लगानी गर्नमा कुनै कञ्जुसाई नगर्नुहोस् ।’
ठूलो स्तरको लगानीविना कर्णाली प्रदेशको विकास नहुने बताएका उनले लगानीमैत्री वातावरण बनाइने प्रतिबद्धता शाहीले जनाए । कर्णाली प्रदेश जलविद्युत विकासको हिसाबले सबै भन्दा राम्रो सम्भावना बोकेको क्षेत्र भएको उनले उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुशकुमार जोशीले अन्य प्रदेशभन्दा कर्णाली प्रदेशमा निजी क्षेत्रलाई लगानी गर्न सहज बनाउन प्रदेश सरकार लाग्नेमा विश्वस्त रहेको बताएका थिए । नाम र राजधानी तोक्न पहिलो हुनुले पनि कर्णाली प्रदेशमा लगानीका लागि राजनैतिक वातावरण अनुकुल रहेको पुष्टि भएको उनले उल्लेख गरे ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका निवर्तमान अध्यक्ष खडगबहादुर बिष्टले कर्णाली प्रदेशमा १० वर्षमा ४ हजार मेघावट जलविद्युत उत्पादन गर्न सकिने बताए । विद्युत उत्पादन गरेर मात्रै नहुने भन्दै उनले विद्युत खपतका लागि ठूला उद्योगधन्दाहरु सञ्चालन गर्नमा सरकारले जोड दिनु पर्ने बताए ।
कर्णाली नदीमा सुख्खा मौसममा २ सय क्युवेक प्रतिसेकेण्ड र भेरी नदीमा ८० क्युवेक प्रतिसेकेण्ड पानीको बहाव रहेको जानकारी दिए । जलविद्युत उत्पादन गर्न ठूलो लगानी लागेपनि विद्युतको क्यापासिटी धेरै भएको प्रदेश कर्णाली भएको उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावल, भौतिक पूर्वाधार मन्त्री खड्क खत्री, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी लगायतको उपस्थिती थियो ।