☰ open Loading... 18 November 2024|  

अन्दोलनको धम्कीले सरकार डगमगाउँदैन्,पक्षपातीलाई तह लगाएरै सिण्डीकेट तोडेरै छाड्छौं : मन्त्री यादव
  | १२ बैशाख २०७५, बुधबार ११:४१

सुर्खेत । यातायात व्यवसायीले दिएको आन्दोलनको धम्कीले सरकार नडगमगाएर यातायात क्षेत्रमा रहेको सिण्डीकेट तोड्न अघि बढेको उद्योग, बाणिज्य तथा आपूतीमन्त्री मातृका यादवले बताएका छन् । जनतालाई सेवा दिने नाममा यातायात क्षेत्रमा देखिएको अराजकताको अन्त्य गर्न सरकारले सिण्डीकेट तोड्न लागेकाले आफ्नो कदमबाट सरकार विचलित नहुने र सिण्डीकेट हटाएरै छाड्ने मन्त्री यादवको बताएका हुन् ।


भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले यातायात व्यसायीहरुले जनतालाई सेवाभन्दा सास्ती दिएर यातायात क्षेत्रमा सिण्डीकेट लादेको आरोप लगाए ।

सिण्डीकेट हटाउँदा चुनौतीहरु उत्पन्न भएपनि सरकारले सहज रुपमा त्यसको अन्त्य गर्ने दावी मन्त्री यादवको छ । ‘सिण्डीकेटका पक्षपातीहरुले विविध हत्काण्डा मच्चाइरहेका छन्’ मन्त्री यादवले भने,–‘धम्कीले सरकार विचलित हुँदैन्, जनतालाई सहज रुपमा सरकारले सेवा दिन्छ बेलैमा सच्चिएर सरकारको यो निर्णयमा साथ दिँदा उपयुक्त होला ।’

शुरुमा व्यावसायीहरु आक्रामक भएपनि विस्तारै सरकारले थालेको अभियानमा साथ दिनेमा आफूहरु आशावादी समेत रहेको मन्त्री यादवको भनाई छ । उनले जनताको चाहाना अनुसार नै सरकारले सिण्डीकेट तोड्ने निर्णय लिएको र त्यसको सफल कार्यान्वयन हुने पनि दावी गरे ।

मन्त्रालयले साना र ठूला उद्योग सञ्चालन गर्न गृहकार्य गरिरहेको मन्त्री यादवको भनाई छ । आयात रोक्ने र आन्तरिक उत्पादनलाई बढवा दिन साना, मझौला र ठूला उद्योग स्थापना गरेर जनताको आयस्तर उकास्नेखालका योजना ल्याउन आफूहरु कटिवद्ध रहेको उनले बताए ।

बहुदलपछि नेपालमा आर्थिक क्षेत्रमा खुला बजार नीति, उदारीकण र नीजिकरणको गलत स्कुलिङ्गले उद्योगधन्दा धरासयी बनाएको टिप्पणी यादवको छ । उनले गलत स्कुलिङका कारण उदारीकरण र खुला बजार नीतिले नेपालमा अरु देशको व्यापारिक थलो बनाएको र नीजिकरणले राष्ट्रिय उद्योगधन्दा बेचेर खाने परीपाटी लादेको बताए ।

कमिशनका कारण अझैपनि प्रशासन क्षेत्रमा यो धन्दा व्याप्त रहेकोले यसलाई तोडेर नयाँ ढंगबाट उद्योगधन्दा सञ्चालन गर्ने नीति आफ्नो मन्त्रालयले अवलम्बन गर्न लागेको उनले जानकारी दिए ।

फरक प्रशंगमा बोल्दै मन्त्री यादवले पार्टी एकतामा शंका नगर्न आग्रह गरे । सुदृढ एकताका लागि सम्मानजनक रुपमा पार्टी एकता गर्न छलफल जारी रहेकोले केही ढिलाई भएको बताए । मन्त्री यादवले बुधबार विहान भुकम्प मापन केन्द्र सुर्खेतको नवनिर्मित भवनको समेत उद्घाटन गरेका छन् ।