☰ open Loading... 1 May 2024|  

पाँच सय विद्यार्थीकाे निःशुल्क शिक्षाको व्यवस्था गरे–८५ वर्षीय थ्राङ्गु रिन्पोछे ले
  | १७ बैशाख २०७५, सोमबार ०९:३६

 काठमाडौंं, १७ वैशाख ।

यतिबेला मुलुकभर विद्यालय भर्ना अभियान चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षकै दिन मुगुबाट विपन्न परिवारका एक बालकको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना सुरु गरेपछि मन्त्रीदेखि सांसद, राजनीतिक दलका नेताहुँदै सामाजिक क्षेत्रका अभियन्ताहरू समेत बालबालिकाका अभिभावक बन्दै विद्यालय भर्नाको लहर चलेको छ । दुई वर्षभित्र सबै बालबालिकालाई अनिवार्य विद्यालय पुर्याउने सरकारको योजनाअनुसार प्रधानमन्त्री ओलीले भर्ना अभियानको थालनी गरेका हुन् । प्रधानमन्त्रीको यो अभियानलाई साथ दिँदै बालबालिकाको अभिभावक बन्ने होडबाजी नै चलेको छ अहिले । नेताहरूको अभिभावकत्व चर्चाको विषय पनि बनिरहेकै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भर्ना अभियानमा साथ नदिए पनि सत्तारूढ दलका नेता कार्यकर्ता अभियान सफल बनाउन लागेका छन् । सरकारले भर्ना अभियान चलाइरहेकै बेला आइतबार ८५ वर्षीय वृद्ध थ्राङ्गु रिन्पोछेले ५ सय विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । ८५ वर्षीय लामा गुरु (रिन्पोछे) ले पाँच सयभन्दा बढी विद्यार्थीको अभिभावक बनेर निःशुल्क शिक्षाको व्यवस्था गरेका हुन् । वयोवृद्ध थ्राङ्गु रिन्पोछे अहिले ८५ वर्ष पुगेका छन् । रिन्पोछेकै अभिभावकत्वमा दुर्गम हिमाली भेगका पाँच सय विद्यार्थी अहिले पठनपाठन गरिरहेका हुन् । बौद्धस्थित मंगलदीप माध्यमिक विद्यालय रिन्पोछेकै संरक्षकत्वमा स्थापना भएको थियो । उनले आफ्नो विद्यालयमा दुर्गम हिमाली भेगका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाएका हुन् । नयाँ भर्ना भएका र विगतमा अध्ययनरत विद्यार्थीका लागि आशीर्वाद दिन रिन्पोछे आइतबार विद्यालय पुग्दा विद्यार्थीमा खुसियाली छायो । उनीहरूले हाम्रो अभिभावक भन्दै उत्सव नै मनाए । लामा गुरुले पनि विद्यार्थीलाई आशीर्वाद दिए । सबै खर्च आफैले बेहोर्ने पूर्वयोजनाअनुसार रिन्पोछेले पुनः सबैको अभिभावकत्व ग्रहण गरे । विद्यालयमा पहुँच नभएका बालबालिकाका लागि सरकारले विद्यार्थी भर्ना अभियान व्यापक बनाएको छ । हरेक वर्षजसो सरकारको मुख्य अभियान नै बालबालिकालाई विद्यालयमा भर्ना हुने गरेको छ । थ्राङ्गु रिम्पोछेले भने विगत ३० वर्षदेखि विद्यालयको पहुँच बाहिर रहेका दुर्गम हिमाली भेगका बालबालिकालाई शिक्षा दिलाउने काम गर्दै आएका हुन् । ‘घोषणा गरेर, प्रचार गराएर मात्रै होइन, यस्ता असहायलाई शिक्षा दिलाउनु पर्छ भन्ने सोचेर मनको शान्तिका लागि ३० वर्षदेखि पढाउने काम गरेको हो, यो हामी सबै नेपालीको दायित्व हो भन्ने लाग्छ,’ लामा गुरु थ्राङ्गु रिम्पोछेले सौर्य दैनिकलाई बताए ।