☰ open Loading... 5 May 2024|  

स्वास्थ्य मन्त्रालयकाे लाचारीपना, प्रदेश सरकार र सांसदलाई बोलाएर ‘सुत्केरी प्रवचन’
  | १८ बैशाख २०७५, मंगलवार १५:२६

सुर्खेत ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विहान वीरेन्द्रनगरमा स्थानीय तहमा स्वास्थ्य अभिमुखीकरण तथा प्रदेशस्तरीय स्वास्थ्य नीति, कानून तर्जुमासम्बन्धी छलफलकाे आयोजना गर्याे । त्यसै त दुइ घण्टा ढिला शुरू भएकाे कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहकाे लाचारिपनाले कार्यक्रम एकातिर विषयबस्तु अर्कैतिर माेड्दा हंगामा भयाे ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीदेखि मन्त्री तथा नीति निर्माण गर्ने ठाँउमा पुगेका सांसदहरू पनि सहभागी थिए । उनीहरूलाई सुत्केरी स्याहार, हातमुख धुने तरिकालगायत सामान्य विषयमा जानकारी दिइयो । कार्यक्रमकाे मुख्य उदेश्य प्रदेशस्तरीय स्वास्थ्य नीति, कानून कस्ताे बनाउँदा उपयुक्त हाेला भन्नेमा केन्द्रित हुनु पर्थ्याे । तर विषायान्तर गर्दा चर्काे अालाेचना भयाे ।

सरकारले बनाउने नीतिबारे सुझाव माग्न भनेर आयोजित कार्यक्रममा सुत्केरीसम्बन्धी प्रवचन र स्वास्थ्यसम्बन्धी सामान्य टिप्स दिएर टारिएको भन्दै कर्णाली प्रदेशका कांग्रेस सचेतक हिमबहादुर शाहीले आपत्ति जनाए ।

‘कम्तिमा पनि कार्यक्रममा को सहभागी हुन्छन्, कसको के भूमिका हो आयोजकले थाहा पाउनुपर्थ्यो,’ उनले भने, ‘कार्यक्रमको विषयबस्तु राम्रो भए पनि कम्तिमा सांसदहरूको मर्यादा राख्नुपर्ने, नीतिका लागि सुझाव माग्ने गर्नुपर्थ्यो, खाली भााषण मात्र सुनाउने र ?’ यति भन्दै उनी कार्यक्रम स्थल छाडेर हिँडे । कांग्रेसका अन्य सांसदहरू पनि उनकै पछि लागे ।

सांसद ठम्मर विष्टले पनि आयोजकमाथि प्रश्न तेर्स्याए । ‘यति महत्त्वपूर्ण कार्यक्रमलाई यस्तो भद्रगोल किन बनाइयो रु’ उनले भने, ‘सानातिना प्रस्तुति दिएर हामीलाई तालिम दिन खोजिएको हो कि ?’

अर्का सांसद दानसिंह परियारले सांसदहरूबाट सुझाव लिन कार्यक्रम आयोजना भएको जस्तो लागेको बताए । ‘तर यहाँ त कक्षा दिन पो बोलाइएछ त १’ उनले भने, ‘सुझाव माग्ने भए त्यहीअनुसार कार्यक्रम गर्नुपर्थ्यो, यहाँ त गोलमाल भयो ।’

यता कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, सांसदहरू सबैको सहभागिता रहेको कार्यक्रममा गाँउस्तरमा जनतालाई दिनुपर्ने सामान्य जानकारी दिनु लाजमर्दो भएको एमाले नेता चर्तुभुज शाहीले टिप्पणी गरे ।

‘केन्द्रबाट लाखौं रकम ल्याउने र जनतालाई बुझाउनुपर्ने कुरा सांसदलाई बुझाउने र ?’ उनले भने, ‘यो भन्दा लाजमर्दो कुरा के हुनसक्छ ?’

शाहीले सांसदहरूलाई १ हजार भत्ता दिएर फकाउन खोजिएको आरोप लगाए । ‘आयोजकले कम्तिमा सांसदको मर्यादा ख्याल राखेर भत्ता त दिनुपर्छ नि रु’ उनले भने, ‘कर्मचारीहरूले बढी लिने अनि सांसदलाई सो भन्दा तल्लो स्तरको सेवा दिने ?’