☰ open Loading... 3 May 2024|  

गायिका ज्याेतिलार्इ मेयरले गुन्यु–चोली उपहार दिएपछि…
  | २४ बैशाख २०७५, सोमबार ०९:३८

जुम्ला । गायिका ज्योति मगरको पहिरन र स्टेज प्रस्तुतिलाई लिएर आलोचना हुने गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवाल पनि उनको लवाइप्रति असन्तुष्ट भइन् । मेयर सेजुवालले चर्चामा आइरहने गायिका तथा मोडल ज्योति मगरलाई नेपाली परम्परा झल्किने गुन्यु–चोली उपहार दिएकी छिन् ।

यहाँ सञ्चालन भइरहेको प्रादेशिक औद्योगिक व्यापार मेलामा आफ्नो प्रस्तृति गर्न आएकी गायिका मगर शुक्रबार छाडा पहिरनमा प्रस्तुत भएपछि गुन्यु–चोली उपहार दिइएको हो ।

गायिका तथा मोडेल ज्योति मगरलाई गुन्यु–चोली उपहार दिएको बारे प्रस्ट पार्दै मेयर सेजुवालले ‘ज्योतिलाई सामाजिक सद्भाव फैलाउन प्रेरणा मिलोस्’ भन्दै उपहार दिएको बताइन् । मेयर सेजुवालले भनिन्, ‘ज्योतिको कलाकारिताको म कदर गर्छु, तर उनको छाडा पहिरन र प्रस्तुति समाजमा अलि पाच्य नहुने, अश्लीलता फैलाउनेखाले हुने गरेको छ ।’

त्यसैले जुम्ला आएको वेला ज्योतिलाई यहाँका महिलाको प्रमुख पहिरनको रूपमा रहेको गुन्यु चोली उपहार दिएको उनले बताइन् । मेयर सेजुवालले आगामी दिनमा कलाकारिताका नाममा अश्लीलता फैलाउनेभन्दा पनि महिलाका वेदना, दुःख समेटिएका गीत गाउन तथा प्रस्तुति प्रर्दशन गर्न सुझाब दिइन् ।

उपहार ग्रहण गर्दै गायिका तथा मोडेल ज्योति मगरले मेयर सेजुवालको उपहारले नारीले नै नारीलाई दमन गरेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मान्छे स्वतन्त्र छ, आफूले रुचाएको पहिरन लगाउन पाउनुपर्छ ।

अहिलेको जमाना त्यो वेलाको बाजेको पालाको जमाना होइन ।’ उनले यस्तो उपहारले आफूलाई अपमान महसुस भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यो भन्दाअघि नायक निखिल उप्रेती पनि आएका थिए, उनीहरूलाई पनि दौरासुरुवाल दिनुपर्ने हो नि !’

एउटा नारीले नारीको सम्मान गर्न नसक्दा समाजमा महिला हिंसाका घटना बढ्ने गरेको जिकिर गायिका मगरले गरेकाे खवर नयाँ पत्रिका दैनिकले छापेकाे छ । उनले छोटो पहिरनले कुनै फरक नपार्ने, तर मान्छेको सोच सकारात्मक हुन आवश्यक रहेको बताउँदै मेयर सेजुवाललाई भनिन्, ‘मेयरज्यू ! मान्छेको सोच सकारात्मकतिर बदल्न प्रयत्न गर्नुहोला ।’