☰ open Loading... 20 April 2024|  

उद्योग वाणिज्य संघकाे सात लाख हिनामिनाकाे तिव्र विराेध
  | २४ बैशाख २०७५, सोमबार १३:१६

सोमबार, २४ बैशाख २०७५,

गोविन्द केसी, दैलेख –

उद्योग वाणिज्य संघ दैलेखमा सात लाख रुपैयाँ अनियमितता भएको छ । कुनै निर्णयबिना नै अध्यक्ष र कोषाध्यक्षले सात लाख रुपैयाँ झिकेको जनाइएको छ। उद्योग वाणिज्य संघ दैलेखका नवनिर्वाचित कार्य समितिले पद बहालीपछि सात लाख रुपैयाँ खर्चेको देखिएपछि विवाद सुरु भएको हो ।निर्वाचित भएको तीन दिनपछि माघ २८ गते पुरानो समितिले सात लाख रुपैयाँ झिकेको आरोप नयाँ कार्यसमितिले लगाएको छ । नया कार्य समितिको चुनाव माघ २५ र २६ गते सम्पन्न भएको थियो। नयाँ कार्यसमितिमा पनि पुरानै पदाधिकारी तथा सदस्य भएकाहरुको बहुमत छ ।

‘निर्वाचित भइसकेपछि पुरानो समितिले सात लाख रुपैयाँको चेक साटेर आफूखुसी खर्च गरेको पाइयो,’ महासचिव राजेशकुमार हमालले भने, ‘हिसाब मागेका छौं । खर्चको फाटवारीबिनै आफूखुसी सात लाखको चेक काटेपछि संघका कर्मचारीसँग स्पष्टीकरण मागेका छौं।’ महासचिव हमालका अनुसार कुनै पनि बिल भर्पाई तथा निवर्तमान समितिको निर्णयबिना नै कोही कसैसँग सल्लाह नै नगरी सीधै संस्थागत अनियमितता गरी निकासा गरेको पाइएपछि छलफल भइरहेको जनाइएको छ ।

चेक साटेको बारे नयाँ समितिलाई थाहा भएपछि छलफल भइरहेको उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर बिकले बताए । ‘कसैलाई पनि थाहा नदिई चेक साट्ने काम भयो,’ महासचिव हमालले भने, ‘पुरानो समितिलाई बोलाएर सात लाख रुपैयाँबारे छलफल गरिरहेका छौं।’ नयाँ निर्वाचित कार्यसमितिलाई पदबहाली तथा काम हस्तान्तरण नगर्दै चेक सटिएको आरोप नयाँ समितिले लगाएको छ । तर निर्वतमान अध्यक्ष शान्तिप्रसाद शर्माले कार्यालय भवनमा कोठा थप्नका लागि खर्च गरिएको बताए । नयाँ समितिले व्यक्तिगत रिसइबी साध्न आरोप लगाएको शर्माले दाबी गरे ।

उद्योग वाणिज्य संघ दैलेखको प्रभु बैंकको शाखामा रहेको खाताबाट सात लाख रुपैयाँ झिकिएको हो । उक्त रकम व्यापार तथा व्यावसाय नविकरण र नयाँ व्यवसाय दर्ता गरेको शुल्कबाट जम्मा भएको उद्योग वाणिज्य संघ दैलेखका नयाँ सदस्यहरुले जनाएका छन् । अहिले उद्योग वाणिज्य संघ दैलेखमा दुई हजारभन्दा बढी सदस्य आवद्ध छन्। पुरानो समितिद्वारा आठौ महाघिवेशन तथा नवौं साधारण सभामा पेस गरेको प्रतिवेदन र बैंक स्टेटमेन्ट भिडाउँदा फरक देखिएपछि खोजतलास गर्दा उक्त सात लाख निवर्तमान कोषाध्यक्षको नाममा काटिएको चेकद्वारा अनियमितता भएको पुष्टि भएको हो।

उक्त एक गाउँ, एक उत्पादन कार्यक्रम अन्तर्गत भवन निर्माणको रकम निकासा गरिएको पूर्वकोषाध्यक्ष कृष्ण कोइरालाले बताए । तर, उद्योग वाणिज्य संघका पदाधिकारीले भवन सम्पन्न भएपछि प्राविधिक स्टेटमेन्टको आधारमा संघको बैठकको निर्णयसहित बिलभरपाईका आधारमा दिने व्यवस्था रहेको बताए । पूर्वकोषाध्यक्ष कृष्ण कोइरालाले नागरिकसँग भने, ‘समितिको निर्णयमा खर्च गरिए पनि बिलभरपाई नराखेको तर फेरि बिलभरपाई मिलाएर हिसाब मिलान भइरहेको छ ।’

साभारः नागरिक न्यूज.कम