☰ open Loading... 18 November 2024|  

मन्त्रीलाई ‘असहयोग गरेको’ आरोपमा सचिवकाे स्पस्टीकरण माग
  | २९ बैशाख २०७५, शनिबार ०८:०६

 वैशाख २९, २०७५ सुर्खेत —

कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि विभागीय मन्त्रीलाई नै ‘असहयोग गरेको’ आरोप लागेको छ । सचिव झालाई संघीय वन तथा वातावरण मन्त्रालयले स्पष्टिकरणका लागि मन्त्रालय झिकाएको हो । ‘यसअघि पनि उनीविरुद्ध गुनासा आएका थिए, यसपटक प्रदेश मन्त्रालयबाट पनि गुनासो आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रीलाई असहयोग गरेको, कर्मचारीबीच समन्वय गर्न नसकेको लिखित उजुरी आएपछि स्पष्टिकरणका लागि बोलाइएको हो ।’ सचिव झा शनिबार मन्त्रालयमै पुगेर स्पष्टिकरण दिन काठमाडौं जाँदैछन् ।

प्रदेश वन मन्त्रालयले पनि सचिवको भूमिकालाई लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आवश्यक कारबाहीका लागि पत्र पठाएको छ । मन्त्री नन्दसिंह बुढाले सचिव झाले सुरुदेखि नै ‘असहयोग’ गर्दै आएको बताए । ‘मन्त्रालयकै कर्मचारीसँग पनि सम्बन्ध राख्न सकेनन्, जिम्मेवारी नदिने, मनोमानी हिँड्ने गरिरहे,’ उनले भने, ‘कर्मचारीले नै चरम असन्तुष्टि राखेपछि बाध्य भएर मुख्यमन्त्री कार्यालय र संघीय वन मन्त्रालयमा गुनासो गर्नुपर्‍यो ।

क्षेत्रीय वन निर्देशकसमेत रहेका सचिव झाविरुद्ध मन्त्रालयमा विभिन्न उजुरी परेका छन् । जिल्ला वन कार्यालय सुर्खेत, बाँकेलगायत जिल्लामा छपान चेकजाँच, लगत चेकचाँच तथा लट निरीक्षणका फाइलहरु चार महिनासम्म दर्ता नगरी थन्क्याएको, प्रतिक्युफिट २५ रुपैयाँका दरले सेवाग्राहीबाट घुस लिएको उजुरी वन मन्त्रालयमा परेको छ ।

साभारः कान्तिपुर अनलाइन