☰ open Loading... 19 November 2024|  

कांग्रेसभित्रको गुटवन्दी अन्त्य भइसक्यो : नेता पौडेल
  | ३० बैशाख २०७५, आईतवार १९:३२

सुर्खेत । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले बताएका छन् । पार्टीमा गुटबन्दी मौलाउँदा नराम्रो हार बेहोर्नुपरेको नेतृत्वले स्वीकार गरिसकेकाले पार्टीभित्रको गुट सकिएको नेता पौडेलले बताएका हुन् ।


नेपाली कांग्रेस निकट युवा संघ तरुणदलको कर्णाली प्रदेशको भेलालाई सम्बोधन गर्न सुर्खेत आएका नेता पौडेलले गुटबन्दी अन्त्य भइसकेकाले पार्टीप्रति निराश नहुन कार्यकर्तालाई आश्वासन समेत नेता पौडेलले दिए ।

‘केन्द्रीय नेतृत्वमा रहेको गुटबन्दीका कारण अहिलेको परिस्थिति बेहोर्नु प¥यो’ पौडेलले भने,–‘अव कार्यकर्तामा पनि गुटबन्दीको भाव अन्त्य गरेर एक ढिक्का भएर पार्टी सञ्चालन गर्नुपर्छ ।’ देखावटी राष्ट्रवादका कारण कम्युनिस्ट विजयी भएको आरोप पौडेलको छ ।

एमाले, माओवादीले कसरी निर्वाचन विजयी भए र कांग्रेसले किन पराजित हुनुप¥यो भन्ने बारेमा समिक्षा गरेर नेतृत्व अगाडी बढिसकेको ठोकुवा गरे । आग्रह, पुर्वाग्रह, गुट उपगुट नभई सबै नेता कार्यकर्ता एक ढिक्का भएर अगाडि बढेमा कांग्रेसले अर्को चुनावमा परिणाम उल्ट्याउने दावी नेता पौडेलको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले एमाले माओवादीले चुनाव जित्ने रणनितीमा राष्ट्रियतालाई भड्याङ्ग बनाएको आरोप लगाए । विगतको समीक्षा गर्दै आगामी दिनमा कांग्रेस अगाडि बढ्नुपर्ने भन्दै उनले ४५ प्रतिशत भोट ल्याउने र पार्टी पहिलो बनाउने रणनितीमा केन्द्रीय नेतृत्व लागि परेको उनको भनाइ थियो ।

‘कांग्रेसले गरेको विकासलाई कम्युनिस्टले आफूले प्रचार गरी भोट ल्याएर जिते’ कार्यकर्तालाई आश्वासन दिँदै महतले भने, ‘जनता सधैँ भ्रमको शिकार हुँदैनन्, हामीले आफ्नो काम जनतामाफ देखाउन सके आगामी निर्वाचन हाम्रै पक्षमा मत आउँछ ।’

कांग्रेस गुटबन्दीमै रुमलिँदा कांग्रेस सरकारले गरेको काम पनि कम्युनिस्टले जस लिँदै निर्वाचनमा भोट आफ्नो पक्षमा पारेको महतको भनाइ थियो ।