☰ open Loading... 5 May 2024|  

पत्रकारहरुको हितमा काम गर्न सुझाव
  | ३० बैशाख २०७५, आईतवार २०:१६

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलाई पत्रकारहरुको हितमा काम गर्न सुझाव दिइएको छ । प्रेस चौतारी नेपाल सुर्खेतले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश कार्यसमितिलाई बधाइ तथा शुभकामना ज्ञापन कार्यक्रमका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।


कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले जिल्ला कमिटि सुर्खेतका उपाध्यक्ष अमृतकुमार बिसीले पत्रकारिताविना समाजको विकास र समृद्धि हुन नसक्ने भन्दै पत्रकारितालाई समाज रुपान्तरणमा उपयोग गर्न सुझाव दिए । उनले सबैभन्दा पछि परेको कर्णाली प्रदेशको विकासको मेरुदण्ड नै पत्रकारिता जगत भएको बताए ।

प्रेस चौतारीका केन्द्रीय सदस्य त्रिभुवन बिसीले महासंघ नेपाली पत्रकारहरुको छाता संस्था भएकाले अब प्रदेशका सबै पत्रकारहरुको हितमा काम गर्न सुझाव दिए ।

उनले पत्रकारिता गरिरहँदा यहाँका पत्रकारहरुले भोग्नु परिरहेका चुनौतीहरुको समाधान गर्दै महासंघ अघि बढ्नुपर्ने बताए । यस्तै प्रेस चौतारी सुर्खेतका सल्लाहकार युवराज शर्माले पत्रकारितालाई मर्यादित बनाउनुका साथै कर्णाली प्रदेशको समृद्धिका लागि पनि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भनाइ राखे ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन महासंघले काम गर्ने बताए । उनले आचारसंहिताको कार्यान्वयनलाई महासंघले कडाईका साथ लागू गर्ने पनि बताए । कार्यक्रम प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कंडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।