☰ open Loading... 20 April 2024|  

प्राविधिक शिक्षा आजको आवश्यकता : प्रदेश प्रमुख खनाल
  | १९ जेष्ठ २०७५, शनिबार २०:०६

सुर्खेत । मूलुक संघियतामा रुपान्तरण भएसँगै राज्यका हरेक अंग संघियतामा जाने पद्धतिअनुसार यो प्राविधिक शिक्षालयहरु प्रदेशगत रुपमा स्थापना भएकोमा कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले खुशी व्यक्त गरेका छन् ।

प्राविधिक नीजि प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेशको अधिवेशनको उद्घाटन गर्न पुगेका प्रदेश प्रमुख खनालले शिक्षालाई व्यवसायिक, रोजगारी प्रदान गर्ने हेतुले स्कुल तथा कलेजहरु स्थापना गरेर जनशक्ति उत्पादन गर्न आग्रह गरेका छन् ।


राज्यलाई सघाउन निजी क्षेत्रबाट पनि यस्ता शिक्षालयहरु खोलेर सिपमूलक शिक्षा दिन गरिएको प्रयत्नले सकारात्मक परिणाम ल्याउनेमा खनालले विश्वास व्यक्त गरे । ‘कर्णाली प्रदेशमा रहेका स्रोत साधन, यहाँको जनशक्ति सबैलाई हेरेर विविध विधामा प्राविधिक शिक्षा दिन सके र दक्ष जनशक्ति उत्पादन गर्न सके त्यो शक्तिले कर्णाली प्रदेशलाई समृद्धितिर लैजान सहयोग पुग्छ’ खनालले भने ।

प्रविधि र प्राविधिक शिक्षा यो प्रदेशलाई आवश्यक रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । प्रविधिक शिक्षालयहरुले प्रदेशको अध्ययन गरेर के कस्ता खालका प्राविधिक शिक्षा दिँदा उपयुक्त हुन्छ भन्नेमा ध्यान केन्द्रित हुनु पर्ने सुझाए ।

नेपालमा प्राविधिक शिक्षा ग्रहण गर्ने तर यहाँ रोजगारी नपाएर विदेशमा गएर भेडा हेर्नुपर्ने स्थिति रह्यो भने त्यो शिक्षाले देशको लागि कुनै उन्नती गर्न नसक्ने भन्दै सुवेदीले उत्पादित जनशक्तिलाई रोजगारी दिन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोडदिए ।

अधिवेशनलाई महासंघ केन्द्रिय सदस्य त्रिलोचन पौड्याल, प्रदेश ५ का अध्यक्ष अरुण पाण्डे, भेरी प्राविधिक शिक्षालयका सह प्राचार्य पारस खड्का, प्राविधिक व्यवसायिक तालिम परिषद्का पश्चिम क्षेत्रिय निर्देशक यादव सुवेदी लगायतले धारणा राखेका थिए ।

शनिवार सम्पन्न भेलाले सुर्खेतका धर्मराज गिरीको अध्यक्षतामा ७ सदस्यीय निजी प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेश समिति गठन गरेको छ । उपाध्यक्ष उपेन्द्रबहादुर खड्का, सचिव मातृकाप्रसाद रिजाल र कोषाध्यक्ष अशोककुमार सिंह छन् । यस्तै, सदस्यहरुमा हिक्मत वली, राजेन्द्र शर्मा र कृष्णप्रसाद ढकाल छन् ।