☰ open Loading... 3 May 2024|  

बजेट कार्यान्वयन हुने अवस्था नआएपछि रातो किताब ल्याएनौं : प्रदेश अर्थमन्त्री
  | २५ जेष्ठ २०७५, शुक्रबार १८:१९

सुर्खेत । प्रदेश अर्थमन्त्री ज्वालाले छोटो समयका लागि ल्याइएको बजेट कार्यान्वयन हुने अवस्था नआएपछि रातो किताब नछापेको बताएका छन् । शुक्रबारको संसद बैठकमा प्रतिपक्षले राखेको विषयको माथि जावफ दिँदै ज्वालाले असारपछि बजेट कार्यान्वयन नहुने अवस्था देखिएपछि किताब नल्याएको दावी गरे ।

‘हामीसंग समय प्रयाप्त थिएन्, रातो किताव ल्याएपनि खर्च गर्ने आधार देखेनौं’ ज्वालाले भने, ‘तत्काल संरचना निर्माण गरेर खर्च गर्न नसकिने भएपछि किताब ल्याउनमा ध्यान दिएनौं ।’ सरकारले मनलाग्दी रुपमा खर्च गरेको भन्ने आरोप गलत भएको बताएका ज्वालाले केही बजेट खर्च भएपनि त्यसको स्पष्ट खर्च विवरण राखेको जानकारी दिए ।

मनाकाे हत्यारालार्इ कारवाहीकाे माग

शुक्रबारको संसद बैठकमा ध्यानाकर्षण गराउने सामयमा बोल्ने सांसदहरुले कालिकोटमा जेठ १९ गते भएको मना सार्कीको हत्यारालाई कडा कारवाहीको माग राखे । समृद्ध र समतामुलक प्रदेश निर्माणको परिकल्पना गरिरहेको बेला कर्णालीमा जातिय छुवाछुतका घटना हुनु दुखद् भएको सांसदहरुको भनाई थियो ।

उनीहरुले घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गर्न माग गरेका थिए । ध्यानाकर्षण समयमा सांसद अमरबहादुर थापा, सिता नेपाली, कुर्मराज शाही, कौशीलावती खत्री, गणेशप्रसाद सिंह, दानसिंह परियार लगायत बोलेका थिए ।

तीन विधेयक समितिमा पठाउन पारित

शुक्रबारको बैठकले सैद्धान्तिक छलफलपछि संशोधनका लागि तीन विधेयक समितिमा पठाउन पारित गरेको छ ।  विधेयकहरुमा सामाजिक संघ संस्था सञ्चालन तथा व्यवस्थापन, कर्णाली प्रदेशको गाउँ सभा र नगर सभाको कानुन निर्माण प्रक्रिया र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धी विधेयक विषयगत समितिमा पठाइएको छ ।