☰ open Loading... 19 April 2024|  

अध्यक्षले गरे, श्रमदान
  | ४ असार २०७५, सोमबार १८:०६

दैलेख, ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले शनिवार विहानै काँधमा पाईप राखेर ६ घण्टा लामो दुरी पार गरे । गाउँपालिकाकै ठुलो खानेपानी योजना निर्माणका लागि अध्यक्षले श्रमदान गरे । अध्यक्ष आफुले अघि लागेर गाउँपालिकाभित्र रहेका कर्मचारीलाई पनि श्रमदानमा सहभागी गराए । अध्यक्षसंगै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, चुनावमा शाहीसंगै निकटम प्रतिद्धन्द्धि काँग्रेसका नेता रक्षाबहादुर शाही पनि सहभागी भए ।

सवैले पाईप काँधमा राखेर मुहान रहेको जैचौरमा पुगे । चरम खानेपानी समस्या झेल्दै आएका ठाटीकाँध गाउँपालिकाकामा एक वर्षभित्र चौविसै घण्टा पानी सुविधा दिने गरि ठाटीकाँध खानेपानी तथा सरसफाई आयोजना निर्माण थालिएको हो ।

सवैबाट खानेपानी आयोजनामा सहयोगी भएर श्रमदान दिईएको छ । अध्यक्ष धिरबहादुर शाहीले भने, शनिवार हामी जनप्रतिनिधि, कर्मचारी र उपभोक्ताबाट पनि श्रमदान गरियो । यो आयोजनाको लागि गाउँपालिकाले ठुलो रकम खानेपानीमा खर्चिएको छ । ठाटीकाँध गाउँपालिकाले १ करोड १८ लाख १ सय ३ रुपैयाँ र ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजनाले प्राविधिक सहयोगका साथै साझेदारी रकम ६० लाख २२ हजार १ सय १७ रुपैँयामा खर्चेर आयोजना निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।

खानेपानी योजनाबाट प्रभावित वडाहरु १, २ र ६ का ठाटीकाँध बजार, लामामेला टोल, काँडाचौर र पिपलचौरा टोलका २ सय ६७ घरधुरी समेटिने आयोजनाका अध्यक्ष मनबहादुर मगरले बताए । आयोजनाभित्र समेटिएका २ सय ६७ घरमै धारा जोडिने खानेपानी आयोजनाले जनाएको छ । खानेपानीबाट घरधुरी २ सय ६७ घरधुरीका १७ सय २२ जनसंख्या लाभान्वित हुनेछन् ।

गाउँपालिकाको २ नम्वर वडाको जौचौरबाट ११ हजार ४ सय ५७ हजार मिटर मुख्य पाईपलाईनबाट पानी ल्याईने जलस्रोत प्राविधिक केसर शाहीले बताए । मुख्य लाईनबाट टंकीमा पानी झारीसकेपछि २३ हजार ६ सय १७ मिटर वितरण लाईन मार्फत ३ वटा वडाका २ सय ६७ वटा धारा बनाईने छ । जम्मा ३५ हजार १ सय १४ मिटर पाईपलाईन विछ्याईने जनाईएको छ ।

यो आयोजनाको श्रमदान जनप्रतिनिधि, उपभोक्ता, कर्मचारी सवैबाट भएको छ ।