☰ open Loading... 1 May 2024|  

सुर्खेतका नाैं स्थानीय तहकाे बजेट कस्काे कति ?
  | १० असार २०७५, आईतवार २१:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ का लागि बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले सहर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै ९६ करोड २२ लाख ३ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको हो ।

नगरपालिकाले कटकुवा हेल्थपोष्टलाई बालबालिका तथा महिला विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने योजना अघि सारेको छ ।

यस्तै, वडा स्तरिय योजनामा २० करोड ८० लाख, नगर महत्वको योजना अन्तरगत मुख्य बजार पूर्वाधार विकासमा ३ करोड, महिला स्वरोजगार कार्यक्रममा एक करोड, नगर स्तरिय गुरुयोजना निर्माण तथा अध्ययन ६० लाख र घण्टाघर अगाडीको खुला मैदानमा पार्क, शहिद पार्क, बुलबुले पार्क निर्माण तथा सहकार्यमा एक करोड रकम विनियोजन गरेको छ ।

यसैगरी, ल्याण्डफिल्ड साइटमा ५० लाख, विपद व्यवस्थापनमा ४० लाख, शिक्षा प्रवद्र्धन कार्यक्रममा ५० लाख, नगर कृषी पवद्र्धन ७५ लाख, नगर स्वास्थ्य पवद्र्धन स्वयंसेविकासहित ३० लाख, पशु सेवा पवद्र्धनमा ३० लाख, हरीयाली पवद्र्धन र काँक्रेविहार चिडियाखाना पार्क निर्माण विकास सहकार्यमा २० लाख, नगर सरसफाई पवद्र्धन तथा सहकार्यमा १० लाख, शहरी सौन्दर्य कार्यक्रम, फुटपाथ, छाडा पशु, ट्राफिक व्यवस्थापनमा १५ लाख, कला संस्कृती पवद्र्धनमा १० लाख, सुशासन पवद्र्धनमा दश लाख, खेलकुद पवद्र्धनमा १५ लाख र दाहसंस्कार स्थल निर्माण तथा व्यवस्थापन सहकार्यमा पाँच लाख रकम छुट्याएको छ ।

आगामी वर्षमा ३० लाख भन्दा भन्दा माथिका वडा गौरवका योजना र एक लाख भन्दा माथिका नगर गौरवका योजनाका रुपमा संचालन गरिने छ । अव्यवस्थित जग्गा प्लटिङलाई निरुत्साहित गर्न कार्यविधि समेत बनाईने भएको छ ।

समृद्ध वीरेन्द्रनगरको आधार, एक घर एक महिला स्वरोजगार भन्ने नारासहित आय आर्जनको योजना पनि नगरपालिकाले अघि सारेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ९ को पर्सेनीदेखि सत्यकाँडासम्म पर्यटकिय मार्गको रुपमा विकास गर्न प्रदेश सरकारसँग समन्वय गरिने योजना नगरपालिकाले अघि सारेको छ ।

नगरपालिकाको एकीकृत गुरुयोजना तयार नहुन्जेल रत्न राजमार्गको दक्षिण दिशातर्फ राजमार्ग देखि १ दशमलव ५ किलोमिटर भन्दा पर वस्ती विकासको कार्यलाई निरुत्साहित गर्ने योजना पनि ल्याएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

‘हरित नगरका रुपमा विकास गर्नका एक घर एक विरुवा, हामी आफै कुरुवा’ भन्ने कार्यक्रमलाई निरन्तरता पनि नगरपालिकाले दिनेछ । नगरप्रमुख देवकुमार सुवेदीले कर्णाली प्रदेस राजधानीको नगर भएका हिसावले पनि यसको विकास विशेष हुने र त्यसका लागि नगरपालिकाले विशेष योजना तथा नीतिहरु ल्याई बजेट विनियोजन गरेको जानकारी दिए ।

नगरभित्रका अधिकांश समस्याहरुलाई सम्वोधन गरी विभिन्न गुरुयोजनाहरु निर्माण गरी जनतालाई विकासको प्रत्याभूती गराउने खालको बजेट ल्याइएको उनको दावी छ ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै ४६ करोड ७९ लाख ८६ हजारको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले तीन वडा सडकलाई ‘गौरवका योजना’ का रूपमा छनोट गरेको छ ।

‘भेरी किनार पर्यटकीय सडक, सडक सञ्जालले नछोएको साबिकको धारापानी गाविस र छिन्चु–घारीवन–कालिमाटी सडकलाई गौरवका योजना छनोट गरेका भन्दै नगरप्रमुख हस्त पुनले बजेटको प्राथमिकता यसैलाई दिएको जानकारी दिए । नौं ओटा स्थानीय तह रहेका स्थानीय तहहरुले पहिलो प्राथमिकतामा सडक र पूर्वाधार निर्माणलाई राखेर बजेट ल्याएका छन् ।