☰ open Loading... 2 May 2024|  

तलब नपाउँदा जाजरकोटका स्वास्थ्यकर्मीद्वारा आन्दोलन, सबै सेवा ठप्प
  | २६ असार २०७५, मंगलवार १७:५०

जाजरकोट, जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै आन्दोलन गर्न थालेका छन् । उनीहरुले मंगलबारदेखि सबै सेवा ठप्प पारेका छन् । ‘भोको पेटले काम गर्न सकिदैन’ भन्दै नारावाजीका साथ सडकमा पुगेका छन् । आन्दोलनले सबै विरामी मर्कामा परेका छन् ।

पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलन गरेको दुई साता बितिसक्दा पनि सम्बन्धित निकायले चासो देखाएको छैन । महिना दिनमा तलब भत्ता बुझ्दै आएका उनीहरुले पाँच महिनादेखि तलब नपाउँदा आन्दोलनमा उत्रिएको एक स्वास्थ्यकर्मीले बताए । दुई साताअघि कालो पट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले गत आइतबारदेखि आकस्मिक सेवाबाहेक सबै बन्द गरेर विरोधमा उत्रिएका थिए ।

जिल्ला अस्पतालमा ५७, नगरपालिकामा ३४ स्वास्थ्यकर्मी र कर्मचारीले समयमा तलब भत्ता पाउन नसकेका हुन् । तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी गंगा रेग्मीले बताइन ।

मन्त्रालयबाटै पैसा निकासा नभएको भन्दै नगरपालिकाले उनीहरुलाई रकम नदिएपछि तलब खान समस्या भएको हो । भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले विरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाउँदा निराश भएको बताए ।