☰ open Loading... 18 April 2024|  

वीरेन्द्रनगर औद्योगिक क्षेत्रलार्इ निर्यातमुखी औद्योगिक क्षेत्र बनाउने उद्घोष
  | २६ असार २०७५, मंगलवार २२:१९

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको औद्योगिक क्षेत्रलाई व्यवस्थित गरेर निर्यातमुखी वस्तुहरु उत्पादन गरिने भएको छ । आवश्यक संरचनाहरु थप गरेर केन्द्र सरकारको समन्वयमा औद्योगिक क्षेत्रलाई व्यवस्थित गरिन लागिएको हो ।


प्रदेशकै एक मात्र वीरेन्द्रनगर औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्दै उत्पादित वस्तुहरुलाई बाह्य निर्यात गर्ने रणनीतिमा प्रदेश सरकार जुटेको छ । प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार औद्योगिक क्षेत्रको निरीक्षण गर्दै निर्यातमुखी औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने उद्घोष गरेका छन् ।

उद्योग स्थापना गरेर मात्रै नहुँने भन्दै मन्त्री बुढाले स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर उत्पादित वस्तु बाहिर निर्यात गर्नु पर्ने बताए । ‘सरकारले नीतिगत योजना र ऐनहरु तयार गर्छ’ मन्त्री बुढाले भने, ‘उद्यागी व्यवसायीहरुका लागि लगानीमैत्री वातावरणको सिर्जना प्रदेश सरकारले गरिदिन्छ ।’

औद्योगिक क्षेत्र प्रदेश मातहतमा रहने भएकाले सञ्चालनरत उद्योगहरुलाई व्यवस्थित गरिने र नयाँ औद्योगिक क्षेत्रको निर्माणमा सरकारले बजेट समेत विनियोजन गरिसकेको बुढाले जानकारी दिए ।

‘भएका औद्योगिक क्षेत्रको व्यवस्थापन गर्ने लक्ष्य सरकारको हो’ मन्त्री बुढाले भने, ‘आगामी बजेटमा वीरेन्द्रनगर औद्योगिक क्षेत्रलाई पूर्वाधारमा परिपक्क बनाउने र नयाँ औद्योगिक क्षेत्रको विकास गर्न हामी कटिवद्ध छौं ।’

औद्योगिक क्षेत्रका फोहोरका उचित व्यवस्थापन नगरेकोमा मन्त्री बुढाले तत्काल यस विषयमा ध्यान दिन कार्यालयलाई निर्देशन दिए । उद्योगीलाई लगानीमैत्री वातावरणको सिर्जना गर्न प्रदेश सरकार गम्भीर रहेका पनि मन्त्री बुढाले बताए ।

९० रोपनी क्षेत्रफलमा रहेको औद्योगिक क्षेत्रमा हाल चालु उद्योग २२, ४ उद्योग निर्माणको क्रममा र २ उद्योग बन्द अवस्थामा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख जीव नारायण बन्जाडेले जानकारी दिए । औद्योगिक क्षेत्रमा काठ उद्योग ९, पोल्ट्री फर्म ५, खाद्य उद्योग तथा इन्जिनियरिङ्ग ३÷३, छापाखाना २, पानी, डेरी, हर्वल, कोल्ड स्टोर, फर्निचर उत्पादन र प्लाष्टिक तथा दाना उद्योग एक÷एक ओटा छन् ।

औद्योगिक क्षेत्रमा सरकारी एक करोड ४४ लाख र नीजि क्षेत्रको पाँच करोड लागनी छ । विभिन्न प्रकृतिका उद्योगहरुले दैनिक विभिन्न सामग्री उत्पादन गर्दै आएपनि विद्युतको समस्या झेल्नु परेको प्रमुख बन्जाडेले बताए ।

उद्योगका लागि १३३ केभिए लाइन विस्तार भएको हुनुपर्छ । तर सुर्खेत–कोहलपुर विद्युत लाइन ठूलो विद्युत प्रशारण लाइन नहुँदा उद्यागीले समस्या झेल्न परेको बन्जाडे बताउँछन् ।

उद्योग मन्त्री बुढाले केन्द्र सरकारको समन्वयमा औद्योगिक क्षेत्र भित्रका उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने र विद्युतको समाधानका लागि पहल गरिदिने आश्वासन दिए । २०३८ सालमा स्थापना भएको औद्योगिक क्षेत्रमा प्रभावकारी व्यवस्थापन नहुँदा उद्योगीहरु पलायन भएको कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्रमा भरपर्दो कम्पाउण्ड तथा सुरक्षाको व्यवस्था नहुन र कच्ची सडकहरुका कारण व्यवस्थापनमा चुनौती थपिएको कार्यालय प्रमुख बन्जाडेको भनाई छ । वीरेन्द्रनगर औद्योगिक क्षेत्रले हाल तीनसय जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।