☰ open Loading... 2 May 2024|  

काम गर्छन तर भुक्तानी पाउँदैनन् निर्माण व्यवसायी
  | २७ असार २०७५, बुधबार २२:०४

सुर्खेत र दैलेखका ६६ अायाेजना प्रभावित,

व्यवसायीले अाठ महिनादेखी पाएनन झण्डै एक अर्व भुक्तानी

सुशील खड्का 
सुर्खेत । काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केही महिना निकै चर्चा बटुले । देशभरका काम झुलाउने व्यवसायीहरुको विवरण समेत संकलन गरे । काम नगर्नेलाई कारवाही गर्ने गृहमन्त्रीको कदमलाई सकरात्मक भन्दै चौतर्फी स्वागत पनि भयो । तर सुर्खेत र दैलेखका विभिन्न ठाउँमा सडक निर्माणको काम गरिरहेको निर्माण व्यवसायीहरुलाई सरकारले विगत आठ महिनादेखी भुक्तानी रकम नदिँदा निर्माणको काम नै प्रायः ठप्प बनेको छ ।


सुर्खेत र दैलेखका विभिन्न क्षेत्रहरुमा सडक निर्माण गरिरहेका तीन दर्जनबढी निर्माण व्यवसायीहरुले लिनु पर्ने झण्डै एक अर्ब भुक्तानी रकम नपाउँदा व्यवसाय नै धरापमा परेको हो । निर्माण सम्पन्न भएका र जारी रहेका आयोजनाहरुको निर्माण नियमानुसार पाउनु पर्ने रकम नपाउँदा विकासका सबै काम ठप्प नै छ ।

गत पुसदेखी करिव २६ करोड रकम नपाएको दुखेसो श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रा.लि.जेभी सुर्खेतका सञ्चालक पदमबहादुर खड्काको छ । ‘काम गरेका व्यवसायीहरुको रकम रोक्दा विकास प्रभावित हुन्छ भन्ने हेक्का राज्यलाई हुन जरुरी छ’ खड्काले भने, ‘मेरो कन्ट्रक्सन अन्तरगत निर्माण सम्पन्न र जारी रहेका आयोजनाको पाउनु पर्ने भुक्तानी रकम नपाउँदा व्यवसाय नै धरापमा पर्ने अवस्थामा पुगेको छ ।’

श्याम एण्ड शंकरले वीरेन्द्रननगरको फोरलेनको दोस्रो चरणको ९० प्रतिशत काम सकेको छ भने तेस्रो चरणको काम जारी छ । यो आयोजनाको मात्रै ९ करोड ५० लाख लिनु पर्ने रकम कन्ट्रक्सनले पाएको छैन् । तातापानी–बावियाचौर–जंगलाघाट र कल्यानकाँध–भक्तडी–जंगलाघाट सडकको काम सकिँदापनि १० करोड भुक्तानी पाउन बाँकी नै छ ।

यस्तै, पिपिरा–पृतना सडकको ८० लाख, छिन्चु रिङ्गरोडको ५६ लाख, राताचौर–रामघाट सडक कालोपत्रेको ९० लाख, सुर्खेत–दैलेख सडक खण्डको छेडामा कालोपत्रे ढलानको १ करोड ५० लाख रकम खड्काले पाउन बाँकी छ ।

आरनटोडा–मटेला–कचाली सडकको २५ प्रतिशत काम सम्पन्न भएपनि नियमानुसार पाउनु पर्ने ४ करोड ५० लाख रकम खड्काले पाएका छैनन् । काम नगर्ने ठेकेदारलाई कारवाही गर्नु राम्रो हो । तर काम जारी र सम्पन्न गरेका व्यवसायीहरुको भुक्तानी नै रोक्नु विकासे काम समयमै सम्पन्न गर्न नदिने खेलमा राज्य नै लागेको खड्काको तर्क छ ।

भुक्तानी रकम नपाउँदा निर्माण व्यवसायीहरुले विभिन्न बैंकहरुबाट लिएको ऋण, निर्माण सामग्रीको भुक्तानी र मजदुरलाई ज्याला दिन समस्या भएको व्यवसायीहरुको गुनासो छ । अर्थ मन्त्रालयले सडक विभागलाई भुक्तानी रकम नदिँदा सुर्खेत र दैलेखमा निर्माण काम गरिरहेका निर्माण व्यवसायीहरुले रकम पाउन सकेका छैनन् ।

डिभिजन सडक कार्यालय सुर्खेतमा धाउँदा पनि खातामा रकम नआएको जानकारी पाएपछि काम गर्नै समस्या भएको महालक्ष्मी किँरातेश्वर केएसके जेभी, सुर्खेतका सञ्चालक सूर्य रावतले दुखेसो पोखे ।

उनले चालु आर्थिक वर्ष सकिन पाँच दिन बाँकी रहँदा भुक्तानी नपाउँदा निकै समस्या भोग्नु परेको जानकारी दिए । महालक्ष्मीले पिपिरा देउती बज्यै सडक र नयाँगाउँ–घुस्रा सडक निर्माण वापतको झण्डै १२ करोड भुक्तानी पाउन बाँकी छ ।

सुर्खेत र दैलेखमा गरी ६६ ओटा साना र ठूला सडक आयोजनाहरु सञ्चालनरहत छन् । यी मध्य कतिपय आयोजनाहरु सम्पन्न भइसकेका छन् । व्यवसायीहरु निर्माण सम्पन्न गरेका आयोजनाहरुको समेत भुक्तानी पाएका छैनन् । दुई जिल्लाका विभिन्न ठाउँहरुमा सडक निर्माण, सडक कालोपत्रे, ग्राभेल जस्ता कामहरु हुँदै आएका छन् ।

विकास निर्माणमा कमजोर कर्णाली प्रदेश सरकारी लापरवाहीले नै विकासे काम नै थप लम्बिने स्थितीमा पुगेको व्यवसायीहरु बताउँछन् । तर डिभिजन सडक कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जयलाल मडासैनीले अर्थ मन्त्रालयले सडक विभागलाई बजेट निकाशा नगर्दा निर्माण व्यवसायीहरुले लामो समयदेखी भुक्तानी पाउन नसकेको जानकारी दिए ।

उनले कार्यालय प्रमुख विभागमा रकम निकाशाका लागि गएकाले असार मसान्तसम्मका व्यवसायीहरुको भुक्तानी दिइने बताए । ‘कार्यालयबाट कुनै कमजोरी छैन, विभागबाटै रकम नआउँदा समस्या भएको हो । केही दिनमै व्यवसायीहरुलाई भुक्तानी दिने प्रयासमा हामी जुटेका छौं’ मडासैनीले भने ।