☰ open Loading... 19 April 2024|  

कर्णालीमा विपद पूर्व यस्तो छ तयारी
  | २९ असार २०७५, शुक्रबार ११:५७

उद्धार टोली तयार, राहतको नि जोहो

डेस्क सम्वाददाता
सुर्खेत । मनसुन सक्रिय भएसंगै कर्णाली प्रदेशमा सम्भावित घटनाको न्युनिकरण गर्न, तत्काल राहत पु¥याउन र उद्धार गर्न टोली तयारी अवस्थामा राखिएको छ । प्रदेशका दश जिल्लामै हुन सक्ने प्राकृतिक प्रकोपका घटनाहरुमा तत्काल रेस्क्यू गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उद्धार टोली तयारी अवस्थामा राखेको हो ।


विपत्तीको समाना गर्न प्रदेश भित्रका दशवटै जिल्ला प्रशासन कार्यालय र ७९ ओटा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन जानकारी गराइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मातहतका जिल्ला प्रहरी कार्यालयबाट वर्षातको नियमित तथ्याङ्क संकलनमा गरिरहेको छ ।

वर्षात शुरु भएकाले खोला, सडक र पहिरोको जोखिममा रहेका नागरिकहरुलाई विशेष सर्तकता अपनाउन समन्वयकारी भूमिका खेलिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्यले जानकारी दिए । उनले उद्धार र राहत सामग्री पु¥याउन केन्द्र सरकारले नेपाली सेनाको हेलिकोप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको बताए ।

प्रदेशमा तत्काल प्राकृतिक विपत्तीका घटना भए उद्धारमा खटिन सेनाका झण्डै दुईसय, नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका १५० जनाको छुट्टै टोली तयारी अवस्थामा छ । प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा विपद् व्यवस्थापन समिति छ । तर आन्तिरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी कार्यकारी संयोजक रहेको समिति समेत छ ।

डुवानभन्दा पहिरो बाढीले आक्रान्त हुने प्रदेशका नागरिकलाई तत्काल उद्धार गर्नकै लागि उच्च सतर्कता अपनाइएको मन्त्रालयले जनाएको छ ।

‘सुरक्षाका तीन वटै निकायसंगै उद्धार र राहतमा खटिन् रेडक्रस र स्वंयमसेवक दस्ताहरु जिल्ला–जिल्लामा तयारी अवस्थामा छन्’ सचिव अचार्यले भने, ‘विपत्तीमा सजकता अपनाउन प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले रणनीति बनाएर अघि बढेका छौं ।’

प्रदेशकै १० वटै जिल्ला प्रहरी कार्यालयबाट दैनिक मौसमी अवस्थाको जानकारी संकलन गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी वीरबहादुर ओलीले बताए ।

‘उद्धारकै लागि प्रदेश कार्यालय, गण र तालिम केन्द्रमा प्रहरीको रिजर्व टोली तयारी अवस्थामा छ’ ओलीले भने, ‘प्रत्येक जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा पनि २५ जनाको उद्धार टोली तयार गरेर घटना भएमा खटिन् निर्देशन दिइसकेका छौं ।’ विगतका घटनाहरुलाई अध्ययन गरेर वर्षातमा प्रकोपका घटना हुन नदिन विशेष रणनीति प्रहरीले अपनाएको छ ।

केन्द्र सरकारले कर्णाली प्रदेश सरकारलाई तत्काल उद्धार स्थलका लागि एकसय थान त्रिपाल पठाएको छ । आवश्यक थप राहत सामग्रीको जोहो जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाईटीले गरिसकेको मन्त्रालयका सचिव आचार्यको भनाई छ ।

प्रदेश राजधानीदेखी जिल्ला, जिल्लादेखी स्थानीय तहसम्म जोड्ने सडकहरु अवरुद्ध भएमा तत्काल सुचारु गर्न आवश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।