☰ open Loading... 26 April 2024|  

समाजकी ‘प्रतिमा’
  | १५ श्रावण २०७५, मंगलवार ०९:४६

किशोरावस्थामा पुगिसकेका हरेक मानिसको चाहना हुन्छ, जागिर खाने अथवा कुनै व्यापार–व्यवसाय गरेर त्यसमा सफल बन्ने । अभिभावक आफ्ना छोराछोरीमाथि गरेको लगानीको प्रतिफल खोज्न आतुर हुन्छन् । अभिभावकको चाहना र सपना पुरागर्न छोराछोरीहरु राम्रो कमाई हुने जागिर अथवा व्यवसायमा अग्रसर हुन्छन् । मानिसले भविष्यमा आईपर्ने समस्या समाधानका लागि सम्पत्ति र शुभचिन्तक कमाउनुलाई स्वभाविक पनि मान्नुपर्छ ।

समाजमा यस्ता पनि युवा हुन्छन्, जो सम्पत्तीदेखि टाढा बस्न चाहन्छन् । त्यस्तै मध्येकी एक हुन् प्रतिमा चपाई । उनमा कुनै पनि आर्थिक लाभसहितको पेशा वा व्यवसाय अंगाल्ने चाहना छैन् । उनी केवल समाजसेवालाई आफ्नो जीवनको उत्तराद्र्धसम्मको ‘पेशा’ बनाउन चाहन्छिन् ।

‘जीवनमा न धेरै कमाउनु छ न त नामले संसारभर परिचित हुनुछ’ उनले सहज उत्तर दिइन्, ‘जीवनको एउटै लक्ष्य बेसहाराको सहारा बन्ने छ ।’ समाजसेवा आफैमा व्यापक क्षेत्र हो । उनले ति मध्येको एक रोजेकी छन्, बृद्धबृद्धाको सेवा । यसका लागि उनले बृद्धबृद्धाको उत्तराद्र्धको जीवन सहज बनाउनका लागि आश्रम सञ्चालनमा ल्याउने ।

२०५४ माघ १९ गते सुर्खेतको पूर्वी क्षेत्रम साविकको लेखफर्सामा जन्मिएकी प्रतिमाको वाल्यकालदेखि अहिलेसम्मको जीवन वीरेन्द्रनगरमा नै व्यतित् भैरहेको छ । हाल उनी र उनको परिवार वीरेन्द्रनगर–३ मा बस्दै आएका छ । आफूसहित आमा, बाबा र दाई उनको परिवारका सदस्य हुन् ।

दुई वर्षको हुँदा लेखफर्साबाट सुर्खेत आएकी प्रतिमाको वाल्यकाल भने खासै अरुको जस्तो राम्रोसँग वितेन् । लेखफर्साबाट उनका बाबाआमाले वीरेन्द्रनगरमा नै बसोवास गर्नेगरि प्रतिमा र प्रतिमाको दाईलाई लिएर सुर्खेत आएका थिए । केही वर्षसम्म उनको सबै परिवार मामा घरमा नै बसे ।

प्रतिमा स्वास्थ्यकर्मी हुन् । वीरेन्द्रनगरमा रहेको नेपाल वाल पोलिक्लिनिकमा उनी कार्यरत छिन् । प्रतिमाले स्वास्थ्य क्षेत्रमा सिएमए अध्ययन गरेकी छन् । स्वास्थ्यका क्षेत्रमा फार्मेसिष्ट बन्ने धोको भएपनि उनी आफ्नै कारणले बन्न सकिनन् । ‘मेरो फार्मेसिष्ट बन्ने धोको पूरा गर्न म चितवन गएँ, तर त्यसको पाठ्यक्रमभित्र पर्ने गणितको डर लाग्यो’ प्रतिमाले हाँस्दै भनिन्, ‘त्यसकारण म फार्मेसी पढ्न सकिन ।’

फार्मेसीको पाठ्यक्रम अध्ययन गर्न झन्झट मानेर चितवानबाट सुर्खेत फर्किएकी प्रतिमाले सुर्खेत प्राविधिक शिक्षालयबाट सिएमए अध्ययन सकिन् । गणित विषप्रति रुची नभएकी उनले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न पाठ्यक्रमभित्र गणित नपर्ने विषय खोजिन् र अहेव (सिएमए) पाईन्, सोही विषय अध्ययन गरिन् ।

प्रतिमाले पढाईका क्रममा पनि निकै विद्यालयहरु परिवर्तन गर्नुपरेको छ । उनलाई जीवनमा विद्यालय अध्ययनको शुरुवातमा नै तत्कालको सशस्त्र द्वन्द्वले प्रभाव पारिदियो । वीरेन्द्रनगरको आदर्शराज मेमोरियल विद्यालयमा नर्सरी पढ्न थालेकी प्रतिमालाई त्यसैवेला द्वन्द्वको प्रभाव प¥यो । उनले त्यो कुरापछि आएर मात्रै थाहा पाइन् । उनले अध्ययन शुरु गरेको विद्यालय तत्काल द्वन्द्वको कारण बन्द भयो ।

बोर्डिङ बन्द भएपछि उनले वालमन्दीर प्राथमिक विद्यालयमा कक्षा १ देखि २ सम्म अध्ययन गरिन् । उनका अभिभाकलाई सरकारी विद्यालयको पढाईमा चित्त नबुझेपछि प्रतिमालाई पुनः निजी विद्यालयमा भर्ना गराए । त्यसपछि प्रतिमाले अरानीको वोर्डिङ स्कुलबाट शुरुदेदि नै अध्ययन गरिन् । विद्यालय परिवर्तन गर्ने क्रममा उनी साउथ एशियन स्कलार्स एकेडेमीमा गईन् । त्यहाँबाट कक्षा तह वृद्धि गराउँदै एसएलसीसम्मको अध्ययन पूरा गरिन् ।

सोही विद्यालयबाट २०६९ सालमा एसएलसी दिएकी प्रतिमा २०७० सालको नतिजामा सफल भइन् । त्यसपछि प्रतिमालाई उनका दाईले ‘दन्त रोग विशेषज्ञ’ बनाउने योजनासहित उनलाई विज्ञान पढ्न प्रेरित गराउन खोजे । एसएलसीपछि विज्ञान पढ्न शुरु गरेकी प्रतिमाको त्यसमा मन नभएकाले बीचैमा छोडिन् ।

त्यो समयमा बाबाले विदेशबाट पैँसा कमाएर पठाउने र आमाले घर व्यबहार चलाउने गरेको उनी बताउँछिन् । आमाले सिकाएका र आफ्ना लागि गरेका हरेका क्रियाकलापहरुले आफूलाई सहज भएको उनी बताउँछिन् । ‘आमाले जसरी घर व्यवहार चलाउनुभयो त्यो मेरो बुझाईमा एक दक्ष आमाको भूमिका हो’ उनी भन्छिन्, ‘आमाकै कारणले म अहिले यहाँसम्म आईपुगेँ, नत्र म गाउँमा हुन्थे, मेरो पनि केही समय अघिनै वालविवाह भैसकेको हुने थियो सायद ।’

घरपरिवार चलाउने आमाले गरेको संघर्षलाई पनि उनले कदर गर्छिन् । उनी भन्छिन्, ‘मेरो आमाले घर व्यबहार चलाउन जुन संघर्ष गर्नुभयो, त्यो कोही परिवारको सुहाउँदो वर्तमान र राम्रो भविष्यको लागि निकै विवेकपूर्ण कार्य हो ।’ बुवा चुडामणि चपाई र आमा दिपा सापकोटाकी कान्छो सन्तानका रुपमा जन्मिएकी प्रतिमा छोटो समयमै समाजसेवामा परिचित नाम हो ।

सामाजिक कर्ममा परिवारको भने सहमति छैन । रुपमा आमा–बाबाले छोरीको अर्थोपार्जनसहितको सुन्दर भविष्यको कल्पना गर्ने हुँदा प्रतिमाको सोचप्रति परिवारको असहमति स्वभाविकै हो । तर, प्रतिमा भने परिवारलाई केही आफ्नै हठ र केही परिवारलाई मनाउने प्रयाससहित आफ्नो योजना पूरा गर्नेतिर केन्द्रित छिन् ।

‘बाबाले र दाईले मेरो योजनाको विषयमा खासै बुझ्ने र बोल्ने समय पाउनुभएको छैन’ प्रतिमाले भनिन्, ‘आश्रम खोल्ने, दुःखी गरिबको सेवा गर्ने उमेर त हाम्रो हो, तैँले पढेर जागिर खानुपर्छ आफ्नो भविष्य राम्रो बनाउनुपर्छ आमाले भन्नुहुन्छ ।’ तर परिवारलाई कुनैपनि हालतमा सम्झाएर योजना पूरा गर्ने उनले बताइन् ।

प्रतिमाको योजना भविष्यमा मानव सेवा आश्रम खोल्ने हो । जहाँ अशक्त, वृद्ध, मानसिक रोगीलगायत समाजबाट बहिस्कृत हुन पुगेका मानिसलाई आश्रय दिन सकियोस् । यो योजना छिट्टै पूरा गर्ने सोचमा प्रतिमा छिन् ।

‘जीवनमा मैँले थुप्रै त्यस्ता व्यक्तिहरु देखेकी छु, जो समाज र परिवारबाट बहिस्कृत भएर सडकको जीवन दुखका साथ बाँच्नुपरेको छ’ प्रतिमाले भनिन्, ‘मैँले आश्रम खोल्ने छु र त्यस्ता व्यक्तिहरुलाई सेवा गर्नेछु ।’ जीवन अन्त्य हुनुअघि समाजमा एक गुणयोगी व्यक्ति भएर बाँच्नुपर्छ भन्ने उनको सिद्धान्त हो ।

जीवन बाँच्नका लागि पैँसा कमाउनु पर्दैन र !
प्रतिमाले उल्टै प्रश्न गरिन्, ‘पैसाले खुशी किन्न पाईन्छ र ?

उनी जीवनमा आउने साना साना खुशीलाई ठूलो उपलब्धी मान्छिन् । ‘कसैलाई पैसाले खुशी दिन्छ होला, तर मलाई मेरो लक्ष्यले खुशी दिने छ’ उनले भनिन्, ‘मेरो लक्ष्य सामाजिक सेवा हो ।’ प्रतिमाका अनुसार उनको सफलता भनेकै मानव आश्रम खोलेर बेसाहाराहरुलाई साहारा दिनु हुने छ ।

अन्य परिवारको जस्तै प्रतिमाको अभिभावकको इच्छा पनि उनलाई सरकारी जागिरमा लागेको हेर्ने छ । तर, प्रतिमा जागिरलाई सकारात्मक ढंगले हेरेपनि आफै संलग्न हुन चाहन्नन् । ‘मेरो परिवारको ईच्छा स्वभाविकै हो र जागिर पनि राम्रो हो’ उनी भन्छिन्, ‘तर मेरो रुची त्यसमा छैन, वर्तमानदेखि भावी दिनहरुमा निःस्वर्थ समाजसेवी बन्नु छ मलाई, त्यसमा मलाई आत्म सन्तुष्टी मिल्छ ।’ जीवनमा सबैभन्दा ठूलो प्राप्ति आत्मसन्तुष्टी भएको प्रतिमाको बुझाई छ ।

अहिले पनि प्रतिमाले आफूले चाहे अनुसार नै काम गर्न पाएकी छन् । स्वास्थ्य क्षेत्रबाट होस् वा कुनै माध्यमबाट उनले सेवामूलक कार्य गरिरहेकै छन् । आफू यसमा खुशी भएको प्रतिमा बताउँछिन् । औपचारिक अध्ययनका बारेमा उनको आँखा देखुन्जेलसम्म पढ्ने बिचार छ । प्रतिमा भन्छिन्, ‘प्रमाणपत्रहरुको उपलब्धी होस् वा नहोस् त्यो मलाई मतलब छैन तर, आँखा देखुन्जेल औपचारिक अध्ययन भने छोड्दिन ।’

अहिलेसम्म मताधिकार प्रयोग नगरेकी प्रतिमा राजनीतिक बिचार यसरी पोख्छिन् ‘हामी राम्रो मानिसलाई भोट दिन चाहन्छौँ, तर त्यस्ता मानिस राजनीतिमा आउँदैनन् ।’ जीवन बाँच्ने क्रममा जीवनको पहिलो २० वर्ष बहुमूल्य हुने उनको बुझाई छ ।

‘जस्ले जसरी व्यवहार गर्छ, उसको व्यक्तित्व त्यसैबाट झल्किन्छ ।’ प्रतिमा भन्छिन्, ‘मानिसले व्यवहार राम्रो गर्नु जरुरी छ, यदि गलत छ भने सुझावका आधारमा सुधानुपर्छ ।’ मानिसको मृत्युले भन्दा गरेको कामबाट सहिद् बन्न सक्ने बुझेकी प्रतिमाको सोच सकारात्मक कार्यमा नडराई लाग्ने छ भने सुझाव पनि यहीँ हो ।

छोटै समयमा प्रतिमाले सामाजिक काममा महत्वपूर्ण भूमिका खेलेकी छन् । मुटुमा प्वाल परेर अपरेशन गर्नुपर्ने अवस्थामा पुगेकी झुप्राको वादी बस्तीकी बालिका अञ्जलीको जीवन बचाउन उनले अभियाननै चलाइन् । ‘अञ्जली बचाउन अभियान’ मार्फत विभिन्न ठाउँमा पुगेर सहयोग संकलन गरिन् । उनको अभियानले सफलता पायो ।

अञ्जलीको अप्रेशन सफल भयो । उनले थालेको अभियानबाट कक्षा दुईमा पढ्दै गरेकी नौ वर्षीया अञ्जलीले नयाँ जीवन पाइन् । अभियानमार्फत् संकलन भएको रकमबाट काठमाडौंस्थित गंगामाला हृदयरोग अस्पतालमा उनको अपरेशन गरिएको हो । प्रतिमाले आफ्नै खर्चमा ८ ठाउँमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गरेकी छन् । वृद्धाश्रममा नियमित सहयोग गर्दै आएकी छन् । स्राेत हाम्राे अखबार दैनिक